आइसिसी विश्वकप क्रिकेट लिग डिभिजन–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले पपुवा न्युगिनी (पिएनजी) माथि साँघुराे जित हासिल गरेको छ ।
बुधबार युएईस्थित शारजाह क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले पिएनजीमाथि २ विकेटको जित निकालेको हो ।
पिएनजीले दिएको २०५ रनको लक्ष्य नेपालले ४ बल बाँकी हुँदा ८ विकेट खर्चिएर भेट्टायो ।
नेपाल १५ ओभरमा ४२–४ को स्थितिमा पुगेको समयमा रोहित र आरिफले पाँचौं विकेटमा १ सय २ रनको साझेदारी गरेका थिए ।
नेपालका लागि १७ औं एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा पहिलो पटक शतकीय साझेदारी सम्भव भएको हो ।
रोहित र आरिफ दुबैले अर्धशतक बनाए । एकदिवसीय अन्तर्राष्ट्रियमा रोहितको चौथो र आरिफको पहिलो अर्धशतक हो ।
रोहितले ५८ र आरिफले ५३ रन बनाए । रोहितले ८२ बल खेली ४ र आरिफले ८६ बल खेली २ चौका प्रहार गरे । कुशल भुर्तेल १, ज्ञानेन्द्र मल्ल ४, दीपेन्द्रसिंह ऐरी ८ र आसिफ शेख १६ रनमा आउट भई नेपाल सङ्कटमा परेको समयमा रोहित र आरिफले मजबुत साझेदारी गरेका थिए ।
यी दुई आउट भएपछि करण केसी र सोमपाल कामीले नेपाललाई जिताए । सोमपाल ७ बलमा ८ रन बनाई आउट भए । करण २५ बलमा २९ रन बनाई अविजित रहे ।
अन्तिम ओभरमा नेपाललाई विजयका लागि ५ रन चाहिएकाे थियाे । पहिलो बलमा लेग बाईमार्फत चौका बटुलेकाे नेपालकाे लागि दाेस्राे बलमा करणले लामाे छक्का प्रहार गर्दै नेपालकाे जित निश्चित गरे ।
त्यसअघि टस जितेर ब्याटिङमा उत्रिएको पिएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २०४ रन बनाएको थियो ।
सुरुवाती ब्याटिङमा उत्रिएको पीएनजीका लागि चार्ल्स अमिनीले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ५९ रन बनाए ।
त्यस्तै, चाड सोपरले ३५ रन बनाउँदा टोनी उराले २७, लेगा साइकाले २५ तथा नोर्मन भानुआले २३ रन बनाए। त्यस्तै कप्तान असद भालाले १९ रन बनाए।
बलिङतर्फ नेपालका लागि सर्वाधिक विकेट सोमपाल कामीले लिए । कामीले ३ विकेट लिँदा आरिफ शेख, सन्दीप लामिछाने र ज्ञानेन्द्र मल्लले समान १ विकेट लिए।
ज्ञानेन्द्र मल्लले एक दिवसीय क्रिकेटमा पहिलोपटक विकेट लिएका हुन् ।
अब, नेपालले अर्को खेल १८ मार्चमा यूएईसँग खेल्नेछ ।
२१ मार्चमा पुनः यूएईसँग खेल्ने नेपालले २२ मार्चमा पपुवा न्युगिनीसँग प्रतिस्पर्धा गर्नेछ।
जितसँगै लिग २ को अङ्कतालिकामा नेपाल छैटाैं स्थानमा यथावत् रहेकाे छ ।
सबैभन्दा कम ९ खेल खेलेकाे नेपाल १० अङ्क जोडेर छैटौं स्थानमा रहँदा १४ खेल खेलिसकेकाे पपुवा न्युगिनी हालसम्म अंकविहीन रहँदै पुछारमा छ।
नेपाल र पिएनजीसम्मिलित सिरिजकाे अर्काे टाेली यूएई १५ खेलबाट १८ अङ्क जाेडेर तालिकाकाे दाेस्राे स्थानमा छ ।