नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने स्वदेश फर्किएका छन् ।
अस्ट्रेलियामा जारी बिग वास लिग (बिबिएल) खेलिरहेका सन्दीप बीचमै लिग छाडेर नेपाली राष्ट्रिय टोलीमा सहभागी बन्न शुक्रबार राति नेपाल फर्किएका हुन् ।
सन्दीपले नेपाल फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल क्रिकेट सङ्घ (क्यान) र खेलाडीबीच देखिएको विवाद छलफबाटै समाधान हुनु क्रिकेटका लागि राम्रो पक्ष भएको पनि बताए ।
उनले भने, ‘परिवारको कुरा परिवारभित्रै सल्टिनु राम्रो पक्ष हो । विवाद सल्टिएपछि सबैजना खुसी हुनुहुन्छ । क्रिकेट एउटा टिम हो, एउटै परिवार हो । नेपालको झन्डाभन्दा ठुलो कोही छैन । अब सबैजना मिलेर अगाडि बढ्नेछौँ, देशको लागि खेल्नेछौँ ।’
क्यानले हालै ज्ञानेन्द्र मल्ललाई पदमुक्त गर्दै सन्दीपलाई कप्तान नियुक्त गरेको थियो ।
साथै क्यानले कप्तान मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीसहित सोमपाल कामी र कमलसिंह ऐरीलाई २०२२ मा सुरुको ६ महिना केन्द्रीय सम्झौतामा नराख्ने निर्णय पनि गरेको थियो ।
त्यसपछि खेलाडी र क्यानबीचको विवाद थप चर्किएको थियो ।
विवादपछि क्यान खेलाडीमाथिको कारबाही फिर्ता लिन तयार भएको थियो भने खेलाडीहरू सन्दीपलाई कप्तान मान्न तयार भएका थिए । यी सबै घटना चल्दा सन्दीप अस्ट्रेलियामा थिए ।