नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई गिरफ्तार गरेर हिरासतमा राखिएको घटनाप्रति आक्रोश व्यक्त गरेका छन्।
बुधबारदेखि सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राज्यले जे गरे पनि हुने अवस्था सिर्जना भएको भन्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका हुन्।
उनले देशमा आतंक सिर्जना गरिएको र आगजनी, तोडफोड तथा मनपरी गिरफ्तारीजस्ता गतिविधि भइरहेको आरोप लगाए।
‘अब आन्दोलनमा किन जाने भन्ने प्रश्न उठ्छ। किनभने राज्यले जे गर्दा पनि हुने भएको छ। आतंक सिर्जना गरिएको छ। आगो लगाए पनि हुने, धनसम्पत्ति सिध्याए पनि हुने, कपोलकल्पित ढंगले मान्छे गिरफ्तार गरे पनि हुने?’ ओलीले प्रश्न गरे।
आफू पूर्वप्रधानमन्त्री भइसकेको व्यक्ति हुँदाहुँदै गिरफ्तार गरेर हिरासतमा राखिएको विषयमा सरकारले जवाफ दिनुपर्ने उनको भनाइ थियो।
ओलीले हिरासतमा राखिएका कारण आफ्नो शल्यक्रिया ढिलो भएको दाबी गर्दै उपचारमा ढिलाइ हुँदा स्वास्थ्यमा गम्भीर समस्या आउन सक्ने अवस्था रहेको उल्लेख गरे।
‘केपी ओली पूर्वप्रधानमन्त्रीलाई किन गिरफ्तार? जवाफ दिनुपर्दैन? मान्छेको जीवन खेलवाड हो? अप्रेसन गर्नुपर्ने थियो। हिरासतमा राखेकोले अप्रेसन ढिलो भयो। उपचार नपाइ मेरो स्वास्थ्य तलमाथि परेको भए? हामी किरा–फट्याङ्ग्रा हौँ? यिनीहरूको लागि?’ उनले भने।
उनले राज्यले नागरिकको जीवन र स्वास्थ्यप्रति संवेदनशील हुनुपर्ने भन्दै आफूलाई गरिएको व्यवहारप्रति असन्तुष्टि जनाएका हुन्।
स्मरण रहोस्, गत चैत १४ गते तत्कालीन प्रधानमन्त्री ओलीलाई गत वर्षको जेनजी आन्दोलनका क्रममा भएको मानवीय क्षतिसँग सम्बन्धित अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको थियो। उक्त घटनामा तत्कालीन गृहमन्त्री रमेश लेखक पनि पक्राउ परेका थिए।
गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले आन्दोलनका क्रममा भएको मानवीय क्षतिमा तत्कालीन राजनीतिक नेतृत्वको भूमिकाबारे अनुसन्धान गरी कानुनी कारबाही अघि बढाउन सिफारिस गरेको थियो।
ओली र लेखकविरुद्धको अनुसन्धानका क्रममा सर्वोच्च अदालतले थप हिरासतमा नराखी अनुसन्धान अघि बढाउन आदेश दिएपछि उनीहरू रिहा भएका थिए। अदालतले रिहाइको आदेश दिँदैमा अनुसन्धान समाप्त भएको भने थिएन।
यसैबीच, राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले आफ्नो गिरफ्तारी, हिरासत र स्वास्थ्य उपचारको विषयलाई पार्टीका नेता तथा कार्यकर्तामाझ उठाएका छन्।