इजरायलका कामचलाउ प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले विपक्षी नेता गादी आइसेनकोटलाई राष्ट्रिय एकता सरकार गठनका लागि प्रस्ताव गरेका छन्। इरानको आणविक कार्यक्रमबाट सुरक्षा चुनौती बढेको उल्लेख गर्दै उनले राजनीतिक मतभेद त्यागेर एकजुट हुन आग्रह गरेका हुन्। तर आइसेनकोटले उक्त प्रस्तावलाई राजनीतिक स्वार्थबाट प्रेरित कदम भन्दै अस्वीकार गरेका छन्।
शनिबार सार्वजनिक भिडियो सन्देशमा नेतान्याहूले कुनै पनि पूर्वसर्त नराखी आइसेनकोटसँग छलफल गर्न आफू तयार रहेको बताएका थिए। इजरायलको सुरक्षा र भविष्यका लागि सबै दलबीच सहमति आवश्यक रहेको उनको भनाइ थियो।
नेतान्याहूले इरानले पुनः आणविक हतियार कार्यक्रम अघि बढाउन खोजेको आरोप लगाउँदै यस्तो अवस्थामा कमजोर सरकारबाट सुरक्षा चुनौती सामना गर्न नसकिने दाबी गरेका छन्। आइसेनकोटलाई हालै दिइएको सुरक्षा जानकारीले पनि एकता सरकारको आवश्यकता थप पुष्टि गरेको उनले बताएका छन्।
तर आइसेनकोटले नेतान्याहूको प्रस्ताव अस्वीकार गर्दै चुनावपछि सरकार गठनको प्रक्रिया प्रभावित पार्ने प्रयास भएको आरोप लगाएका छन्। नेतान्याहूले एकताको कुरा गरे पनि व्यवहारमा राजनीतिक विभाजन र उत्तेजना फैलाइरहेको उनको टिप्पणी छ। उनले नेतान्याहूको अपिललाई अर्को राजनीतिक चालको संज्ञा दिएका छन्।
गत अक्टोबर २७ मा भएको निर्वाचनमा कुनै पनि दल वा गठबन्धनले संसद्मा बहुमतका लागि आवश्यक ६१ सिट प्राप्त गर्न सकेनन्। १२० सदस्यीय नेसेटमा नेतान्याहू नेतृत्वको दक्षिणपन्थी तथा धार्मिक गठबन्धनले ५३ सिट जित्दा आइसेनकोटको चार दलीय गठबन्धनले ४८ सिट प्राप्त गरेको छ। अरब नेतृत्वका दलले भने १९ सिट जितेका छन्।
राष्ट्रपति इसाक हर्जोगले सरकार गठनको जिम्मेवारी आइसेनकोटलाई दिएका छन्। उनलाई ६७ सांसदको समर्थन प्राप्त भएको छ भने नेतान्याहूको पक्षमा ४६ सांसद देखिएका छन्। आइसेनकोटले नयाँ सरकार गठनका लागि २८ दिनको समय पाएका छन्। आवश्यक परे थप १४ दिन समय लिन सक्ने व्यवस्था छ।
आइसेनकोटले अरब नेतृत्वका दललाई सरकारमा सहभागी नगराउने बताएका छन्। उनको गठबन्धनका ४८ सांसदले समर्थन र नेतान्याहू पक्षका ४६ सांसदले विरोध गरे पनि बाँकी २६ सांसद मतदानमा अनुपस्थित रहे सरकार गठनको बाटो खुल्न सक्छ। तर नेतान्याहूले यस्तो सरकार बने देशका लागि संकट निम्तिने चेतावनी दिएका छन्।
यसैबीच, आइसेनकोटले नेतान्याहूको लिकुड पार्टी र बेजालेल स्मोट्रिचको धार्मिक जायोनिज्म पार्टीसँग सहकार्यको सम्भावना खुला राखेका छन्। तर त्यसका लागि उनीहरूले एकता सरकारप्रति इमानदार प्रतिबद्धता जनाउनुपर्ने र अतिवादी समूहसँगको सम्बन्ध तोड्नुपर्ने उनको सर्त छ।
मंगलबार इजरायली संसद् नेसेटमा सभामुख चयनका लागि मतदान हुँदैछ। विपक्षी गठबन्धनले पूर्वसैनिक अधिकारी मत्तान काहानालाई उम्मेदवार बनाएको छ। आइसेनकोटले लिकुड र धार्मिक जायोनिज्म पार्टीले वास्तविक सहकार्य चाहेको भए काहानालाई समर्थन गर्नुपर्ने बताएका छन्।