नेपाली कम्युनिस्ट पार्टीकी सांसद पार्वती विकले मानव बेचबिखन तथा शोषणको समस्या विदेशमा मात्र सीमित नभई नेपालभित्रै पनि गम्भीर रूपमा रहेको बताएकी छन्। उनले महिला, श्रमिक तथा बालबालिका देशभित्रै विभिन्न बहानामा बेचबिखन र श्रम शोषणको सिकार भइरहेको भन्दै यसलाई नियन्त्रण गर्न कानुन समयसापेक्ष बनाउनुपर्नेमा जोड दिएकी छन्।
मंगलबार प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) सम्बन्धी प्रस्तावित विधेयकमाथिको छलफलमा बोल्दै सांसद विकले यस्तो धारणा राखेकी हुन्। उनले वैदेशिक रोजगारीका नाममा हुने संगठित मानव बेचबिखनसँगै देशभित्र भइरहेका शोषणका घटनालाई पनि कानुनले समेट्नुपर्ने बताइन्।
उनका अनुसार गरिब तथा श्रमिक परिवारका बालबालिकालाई पढाइदिने र राम्रो भविष्य बनाइदिने प्रलोभन देखाएर गाउँबाट सहर ल्याउने र त्यसपछि होटल, रेस्टुरेन्ट तथा निजी घरमा काममा लगाउने प्रवृत्ति अझै कायम छ। शिक्षा र अवसरको आश्वासन दिएर ल्याइएका बालबालिकालाई परिवारबाट टाढा राखी श्रम शोषण गरिने गरेको उनले उल्लेख गरिन्।
सांसद विकले इँटा भट्टामा बालबालिकालाई काममा लगाउने समस्या पनि पूर्ण रूपमा नियन्त्रण हुन नसकेको बताइन्। उनले एक वर्षअघि ललितपुरस्थित एउटा इँटा भट्टाबाट सल्यानका पाँच जना बालबालिकाको उद्धार गरेको अनुभव सुनाउँदै यस्ता घटना रोक्न प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराइन्।
त्यस्तै, वैदेशिक रोजगारीका नाममा हुने मानव बेचबिखनको स्वरूप पनि बदलिँदै गएको उनको भनाइ छ। पछिल्लो समय दलालहरूले घरमै पुगेर अभिभावकलाई विश्वासमा लिने, राहदानी बनाउनेदेखि म्यानपावर र हवाई यात्रासम्मको व्यवस्था मिलाएर श्रमिकलाई विदेश पठाउने गरेको उनले बताइन्। कामका लागि विदेश गएको ठान्ने व्यक्तिले गन्तव्य मुलुक पुगेपछि मात्रै आफू बेचबिखनमा परेको थाहा पाउने अवस्था रहेको उनले उल्लेख गरिन्।
यस्तो जोखिम विशेषगरी महिला र श्रमिक वर्गका व्यक्तिमा बढी देखिएको विकको भनाइ छ। त्यसैले वैदेशिक रोजगारीका नाममा हुने संगठित बेचबिखन र नेपालभित्रै हुने बालश्रम तथा अन्य शोषण दुवैलाई सम्बोधन गर्ने गरी ऐन बनाउनुपर्ने उनले आग्रह गरिन्।
मानव बेचबिखनको बदलिँदो स्वरूप र पीडितले भोग्नुपर्ने जोखिमलाई ध्यानमा राखेर प्रस्तावित विधेयकलाई प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिएकी छन्।