चलचित्र छायांकनको आकर्षक गन्तव्य बन्दै कोशी : पर्यटन प्रवर्द्धनदेखि आर्थिक गतिविधिसम्म नयाँ सम्भावना

आरती थापा
बुधबार १० असार, २०८३
३ घण्टाअघि

विराटनगर- प्राकृतिक सौन्दर्य, जैविक विविधता, सांस्कृतिक सम्पदा तथा हिमालदेखि तराईसम्म फैलिएको अनुपम भूगोलका कारण कोशी प्रदेश पछिल्लो समय चलचित्र तथा म्युजिक भिडियो छायांकनको आकर्षक गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ । नेपाली चलचित्र उद्योगका निर्माता तथा निर्देशकहरूले प्रदेशका विभिन्न पर्यटकीय क्षेत्रलाई छायांकन स्थलका रूपमा रोज्न थालेपछि पर्यटन प्रवर्द्धनसँगै स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव देखिन थालेको छ ।

केही समयअघि प्रदर्शन भएको नेपाली चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ यसको पछिल्लो उदाहरण बनेको छ । चलचित्रको मुख्य छायांकन ओखलढुङ्गाको रुम्जाटार क्षेत्र तथा काठमाडौंमा गरिएको थियो । प्रदर्शनपछि चलचित्रले व्यावसायिक सफलता मात्र हासिल गरेन, रुम्जाटार क्षेत्रलाई समेत देशव्यापी चर्चा दिलायो । चलचित्र हेरेपछि धेरै दर्शक रुम्जाटार पुग्न थालेको अनुभव चलचित्रका निर्माता विनोद पौडेल सुनाउँछन् ।

Advertisement

मोरङको बेलबारी निवासी पौडेलका अनुसार कोशी प्रदेश चलचित्र छायांकनका लागि अत्यन्तै सम्भावना बोकेको क्षेत्र हो । ‘कोशी प्रदेशमा फिल्म सुटिङका लागि उत्कृष्ट लोकेसनहरू छन् । चलचित्रले पर्यटन प्रवर्द्धनमा ठूलो भूमिका खेल्छ । ‘पूर्णबहादुरको सारङ्गी’ हेरेर धेरै मानिस रुम्जाटार पुगेका छन्,’ उनले भने ।

उनका अनुसार चलचित्रमार्फत प्रदेशका पर्यटकीय क्षेत्रको प्रचार गर्न सकिए पर्यटनसँगै आर्थिक गतिविधिमा समेत उल्लेखनीय वृद्धि हुन सक्छ । ‘यदि चलचित्र र पर्यटनलाई एकसाथ जोडेर अघि बढ्न सकियो भने कोशी प्रदेशको आर्थिक अवस्था सुधारमा ठूलो योगदान पुग्न सक्छ,’ पौडेलले बताए ।

कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा पछिल्ला वर्षहरूमा दर्जनौँ चलचित्र छायांकन भएका छन् । सुनसरीमा अरुणकुमार झा निर्देशित ‘चण्डाल’, अरुणकुमार प्रधान निर्देशित ‘क्याविन गर्ल’, ‘वंश’, ‘हमर जिन्गी’, ‘टिन एजर’, ‘यो साइनो मायाको’, भीम लामा निर्देशित ‘डार्लिङ’, ‘सप्राइज’, ‘गोल’, किशोर सुब्बा निर्देशित ‘मनै त हो’, महेन्द्र बुढाथोकी निर्देशित ‘संगम’, रविन श्रेष्ठ निर्देशित ‘पार्सल’, मौसम लिम्बु निर्देशित ‘चेसुङ’, प्रकाश पौडेल निर्देशित ‘नाइ मलाई कोही चाहिँदैन’ लगायत चलचित्रहरूको छायांकन गरिएको छ ।

त्यसैगरी प्रकाश सुब्बा निर्देशित ‘मिराज’, भीषण राई निर्देशित ‘पुरानो बुलेट’, प्रकाश ओझा निर्देशित ‘त्रास’, नवीन गुरुङ निर्देशित ‘भुपु लाहुरे’, ‘फेसनवाली’, लाखमान योञ्जन निर्देशित ‘अभियान’, प्रवेश पौडेल निर्देशित ‘बिहे पास’ लगायत चलचित्रका दृश्यहरू पनि कोशी प्रदेशमै कैद गरिएका छन् ।

प्रदेशका विभिन्न जिल्लाहरूमा छायांकन भएका चर्चित चलचित्रहरूको सूची अझै लामो छ । ‘रातो टीका निधारमा’ झापामा, ‘गाउँ आएको बाटो’ भोजपुरमा, ‘उनको स्वीटर’ पाँचथरमा, ‘परिवर्तन’ झापा, इलाम र मोरङमा, ‘नाई नभन्नु ल ५’ झापा र इलाममा, ‘यो मन त मेरो नेपाली हो’ इलाम र झापामा, ‘परदेशी २’ झापामा, ‘रक्तबीज’ झापा र इलाममा, ‘नोटबुक’ मोरङ र इलाममा, ‘बद्री बहादुर’ सङ्खुवासभामा, ‘अञ्जिला’ इलाम र झापामा, ‘जीवन काँडाकी फूल’ धनकुटामा, ‘मैझारो’ इलाम र पाँचथरमा, ‘खजुरे ब्रो’ सुनसरीमा, ‘बलिदान’ मोरङ र सुनसरीमा तथा ‘परान’ धनकुटामा छायांकन गरिएको थियो ।

यसैगरी ‘वरिष्ठ बलराम’ सुनसरीमा, ‘पाँच पाण्डव’ सङ्खुवासभा र झापामा छायांकन गरिएको छ भने हाल ‘चिरञ्जीवी भव’ मोरङ, सुनसरी र धनकुटामा तथा ‘महाराजधिराज’ सुनसरीमा छायांकन गरिएका छन् ।
चलचित्र निर्माणका लागि प्रदेशको भौगोलिक विविधता महत्वपूर्ण आकर्षण बनेको चलचित्रकर्मीहरू बताउँछन् । एउटै प्रदेशभित्र हिमाल, पहाड, तराई, नदी, झरना, धार्मिक स्थल, सांस्कृतिक सम्पदा तथा ग्रामीण जीवनशैलीको विविधता उपलब्ध हुनु ठूलो विशेषता भएको उनीहरूको भनाइ छ ।

निर्माता पौडेलले प्रदेशलाई चलचित्रमैत्री बनाउन सरकारी स्तरबाट थप सुधार आवश्यक रहेको बताए । ‘पर्यटक पुग्ने पहिलो गन्तव्य एयरपोर्ट नै हो । त्यसको स्तर सुधार गर्नुपर्छ । चलचित्रकर्मीहरूलाई आकर्षित गर्न विशेष सुविधा तथा सहुलियतसहितको प्याकेज ल्याउनुपर्छ,’ उनले भने ।

उनका अनुसार पछिल्लो एक वर्ष कोशी प्रदेशका लागि चलचित्र क्षेत्रको दृष्टिले निकै उत्साहजनक रह्यो । ‘‘उनको स्वीटर’, ‘परान’, ‘अञ्जिला’ लगायत चलचित्र कोशीमै छायांकन भए र सफल पनि भए । यो प्रदेशका लागि सकारात्मक संकेत हो,’ उनले थपे ।

चलचित्र निर्माता संघका उपाध्यक्ष ज्योतिराज राईले चलचित्र पर्यटन प्रवर्द्धनको सबैभन्दा प्रभावकारी माध्यममध्ये एक भएको बताए । उनका अनुसार कुनै पनि पर्यटकीय गन्तव्यको ब्रान्डिङ चलचित्रमार्फत दीर्घकालीन रूपमा प्रभावकारी हुन सक्छ ।

‘आज प्रचार गरियो भने आजै परिणाम नआउला, तर कालान्तरमा त्यसले ठूलो उपलब्धि दिन्छ,’ उनले भने । राईका अनुसार कोशी प्रदेश पर्यटनका लागि अथाह सम्भावना बोकेको क्षेत्र भए पनि पर्याप्त प्रचारको अभावमा धेरै गन्तव्य ओझेलमा परेका छन् । त्यसैले योजनाबद्ध ढंगले विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको उनले औंल्याए ।

उनले चलचित्रबिना कोशी प्रदेशको पर्यटन क्षेत्र पूर्ण रूपमा सुदृढ हुन नसक्ने धारणा राखे । ‘चलचित्र पर्यटन प्रवर्द्धनको सबैभन्दा शक्तिशाली माध्यम हो । चलचित्रमार्फत प्रदेशका लुकेका पर्यटकीय गन्तव्यहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सकिन्छ,’ उनले भने ।

राईले विश्वका विभिन्न देशहरूले चलचित्रलाई पर्यटन विकाससँग जोडेर उल्लेखनीय सफलता हासिल गरेको उदाहरण प्रस्तुत गर्दै कोशी प्रदेशमा पनि त्यही सम्भावना रहेको बताए ।

प्रदेश सरकारले समेत पर्यटन र चलचित्र क्षेत्रबीचको सम्बन्धलाई प्राथमिकतामा राख्दै विभिन्न योजना अघि बढाएको छ । कोशी प्रदेश सरकारले वर्ष २०८२ लाई ‘कोशी पर्यटन वर्ष’ का रूपमा मनाउने घोषणा गर्दै १० करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । सो अवसरमा ‘८२ का लागि ८२ गन्तव्य’ सूची सार्वजनिक गरी ती पर्यटकीय केन्द्रहरूको योजनाबद्ध विकासको प्रक्रिया अघि बढाइएको थियो ।

पर्यटन प्रवर्द्धनका लागि पर्यटन, वन तथा वातावरण मन्त्रालयले चलचित्र निर्माता तथा निर्देशकहरूसँग काठमाडौंमा छलफलसमेत गरेको थियो । मन्त्रालयले प्रदेशलाई ‘फिल्म फ्रेन्ड्ली डेस्टिनेसन’ का रूपमा विकास गर्ने लक्ष्यसहित काम गरिरहेको जनाएको छ ।

सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा पनि पर्यटनलाई उच्च प्राथमिकतामा राखेको छ । प्रदेश सरकारले २०८३ साउनदेखि २०८५ असारसम्म ‘कोशी प्रदेश भ्रमण वर्ष’ मनाउने घोषणा गरेको छ ।

नीति तथा कार्यक्रमअनुसार पर्यटनलाई आर्थिक विकासको मुख्य आधारका रूपमा स्थापित गर्न एकीकृत पर्यटन गुरुयोजना तयार गरिनेछ । धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पर्यटकीय गन्तव्यहरूको संरक्षण, विकास र प्रवर्द्धनमा जोड दिइने उल्लेख गरिएको छ ।

आर्थिक वर्ष २०८३/८४ का लागि प्रदेश सरकारले पर्यटन क्षेत्रको विकासमा ३ अर्ब ४९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । उक्त बजेटबाट नै पर्यटकीय पूर्वाधार निर्माण, प्रचारप्रसार तथा दुई वर्षे भ्रमण वर्ष कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

कोशी प्रदेशका हिमाली जिल्ला सोलुखुम्बु, सङ्खुवासभा र ताप्लेजुङदेखि धनकुटा, भोजपुर, पाँचथर, इलाम, झापा, मोरङ र सुनसरीसम्मका क्षेत्र चलचित्रकर्मीको रोजाइमा पर्न थालेका छन् । कञ्चनजंघा क्षेत्र, भेडेटार, नाम्जे, बराहक्षेत्र, कोशी टप्पु वन्यजन्तु आरक्ष लगायतका स्थान चलचित्र तथा म्युजिक भिडियो छायांकनका लोकप्रिय गन्तव्य बन्दै गएका छन् ।

पर्यटन व्यवसायी भविष श्रेष्ठका अनुसार चलचित्र र म्युजिक भिडियोमार्फत सार्वजनिक हुने दृश्यहरूले दर्शकमा ती स्थान प्रत्यक्ष अवलोकन गर्ने इच्छा जगाउने भएकाले पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्छन् । चलचित्रमा देखिएका दृश्यहरू हेर्न देश तथा विदेशबाट पर्यटक पुग्ने क्रम बढिरहेको अनुभव उनको छ ।

उनले टिकटकमा भाईरल भएका कारण बोराबाध र बुढीखोलाको झर्ना हेर्न मानिसहरुको भिड लागेको बताए । ‘चलचित्रमा देखिएको दृश्य हेरेर पनि धेरै पर्यटन घुम्न आउँछन्’, उनले भने, ‘चलचित्र छायाँकन हुँदा पनि पर्यटन क्षेत्र चलायमान हुन्छ र पछि पनि पर्यटन प्रवर्द्धनमा सघाउ पुग्छ ।’

स्थानीय तहका जनप्रतिनिधिहरूले समेत आफ्नो क्षेत्रका पर्यटकीय स्थलको प्रचारप्रसारका लागि चलचित्र तथा वृत्तचित्र निर्माणलाई प्रोत्साहन गर्नुपर्ने धारणा राखेका छन् । उनीहरूका अनुसार छायांकन टोलीको आगमनले होटल, यातायात, खाद्यान्न तथा अन्य सेवा क्षेत्रमा प्रत्यक्ष आर्थिक गतिविधि बढाउने गरेको छ ।

बेलबारी नगरपालिकाका नगरप्रमुख दिल प्रसाद राईले पर्यटकीय क्षेत्रको प्रचार प्रसारको राम्रो माध्यम चलचित्र हुने बताए । उनले भने, ‘चलचित्र छायाँकन हुँदा देखी प्रदर्शन हुँदा सम्मका गतिविधि पर्यटन प्रवर्द्धनसँग जोडिन्छ । चलचित्रको दृश्य हेरेर धेरै मानिस घुम्न आउँछन् । यसले आर्थिक गतिविधि बढाउँछ ।’

स्थानीय तहहरुले चलचित्र छायाँकनको समयमा प्रभावकारी रुपमा सहजीकरण गर्न नसकेको बताउँदै राईले भने, ‘हामीले पनि प्रभावकारी रुपमा समन्वय गर्न सकिरहेका छैनौ, यसले गर्दा चलचित्र छायाँकनमा समस्या हुने गरेको निर्देशक निर्माताहरुको गुनासो पनि आउने गरेको छ। यसलाई हामी स्थानीय तहले पनि सोच विचार गरेर सहजीकरण गर्नुपर्ने आवश्यकता छ ।’

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले चलचित्र पर्यटन विकासको प्रभावकारी माध्यम भएको उल्लेख गर्दै कोशी प्रदेशको प्राकृतिक, सांस्कृतिक तथा साहसिक पर्यटन प्रवर्द्धनमा चलचित्रले महत्वपूर्ण योगदान पुर्‍याउन सक्ने बताए ।

चलचित्र पत्रकार संघ कोशी प्रदेशका अध्यक्ष विरेन्द्र कुमार साह कोशी प्रदेशको पर्यटन प्रवर्द्धन गर्ने र आर्थिक रुपमा चलायमान बनाउने हो भने चलचित्र क्षेत्रलाई सरकारले सहयोग गर्नुपर्ने बताउँछन् । उनका अनुसार एक बर्ष अगाडि कोशी प्रदेशमा चलचित्र महोत्सव पनि गरिएको थियो । चलचित्र महोत्सवको समयमा चलचित्रकर्मीहरुले कोशीको पर्यटन विकासको लागि आफूहरुले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको पनि साहले सुनाए ।

कोशी प्रदेश सरकार र स्थानीय तहले चलचित्र क्षेत्रलाई पनि सँगसँगै लिएर जान सके प्रभावकारी हुने बताउँदै साहले प्रदेश सरकार र स्थानीय तहले समन्वय गरेर चलचित्र छायाँकनमा सहज बनाउन सके धेरै निर्देशक निर्माताको रोजाई कोशी प्रदेश हुने बताए ।

त्यस्तै कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले चलचित्र उद्योग र पर्यटन क्षेत्रबीचको सहकार्यले प्रदेशको आर्थिक तथा सांस्कृतिक पहिचान थप सुदृढ हुने विश्वास व्यक्त गरे । उनले कोशी प्रदेशमा छायांकन हुने चलचित्रहरूलाई आवश्यक सहयोग तथा सहजीकरण गर्ने प्रतिबद्धता जनाए ।

‘आगामी दिनमा चलचित्र छायांकनका लागि थप अनुकूल वातावरण निर्माण गरिनेछ । स्थानीय तहसँग आवश्यक समन्वय गरेर चलचित्र उद्योगलाई प्रोत्साहन गर्ने नीति अघि बढाइनेछ,’ मन्त्री पराजुलीले भने ।

प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा साहसिक पर्यटनका प्रचुर सम्भावना बोकेको कोशी प्रदेशमा चलचित्र छायांकन गतिविधि विस्तार हुँदै जाँदा पर्यटन क्षेत्रले नयाँ गति लिने अपेक्षा गरिएको छ । चलचित्र र पर्यटनबीचको अन्तरसम्बन्धलाई नीतिगत रूपमा थप सुदृढ बनाउन सके कोशी प्रदेश राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र छायांकनको प्रमुख गन्तव्यका रूपमा स्थापित हुन सक्ने सम्भावना बलियो बन्दै गएको छ ।

चलचित्रमार्फत प्रदेशका सुन्दर गन्तव्यहरू विश्वसामु चिनाउने र त्यसबाट पर्यटन, रोजगारी तथा स्थानीय अर्थतन्त्रलाई नयाँ उचाइमा पुर्‍याउने अवसर कोशी प्रदेशले प्राप्त गरिरहेको सरोकारवालाहरूको निष्कर्ष छ ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

विराटनगरमा लागुऔषध प्रयोगकर्ताको चक्कु प्रहारबाट दुई प्रहरीसहित तीन जना घाइते

आईतबार ७ असार, २०८३
३ दिनअघि

विराटनगरमा चिठ्ठामा आकर्षक उपहारको प्रलोभन देखाएर ठगी

आईतबार ७ असार, २०८३
३ दिनअघि

रंगेलीमा लागुऔषधसहित भारतीय नागरिक पक्राउ

आईतबार ७ असार, २०८३
३ दिनअघि

सुनसरी आउँदै गरेको स्कुल बस उदयपुरमा दुर्घटना, ३२ जना घाइते

शनिवार ६ असार, २०८३
४ दिनअघि

प्रहरीले भन्यो- कोशीका कानूनमन्त्रीको घरमा खानतलासी गरिएको छैन

शुक्रबार ५ असार, २०८३
५ दिनअघि

धनकुटाको चौबिसे गाउँपालिकामा नीति, कार्यक्रम तथा बजेट तर्जुमाबारे सार्वजनिक सुनुवाइ सम्पन्न

बुधबार ६ जेठ, २०८३
१ महिनाअघि
कोशी प्रदेशकी सांसद् निर्मलालाई पदमुक्त गर्ने तयारी
बुधबार १० असार, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
बुधबार १० असार, २०८३
नेपाल प्रहरीले १५ दिनमा तलब पाउने
बुधबार १० असार, २०८३
प्रदेश खारेज गर्ने रास्वपाको प्रस्तावप्रति जनमत पार्टीको विरोध
बुधबार १० असार, २०८३
कैलालीमा ठूलो परिमाणको खैरो हिरोइनसहित १० जना पक्राउ
बुधबार १० असार, २०८३
हुम्लामा जिप दुर्घटना हुँदा ४ जना घाइते
बुधबार १० असार, २०८३
चलचित्र छायांकनको आकर्षक गन्तव्य बन्दै कोशी : पर्यटन प्रवर्द्धनदेखि आर्थिक गतिविधिसम्म नयाँ सम्भावना
बुधबार १० असार, २०८३
कांग्रेसको क्रियाशील सदस्यता सम्बन्धी फेरि नयाँ तालिका
बुधबार १० असार, २०८३
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
बुधबार १० असार, २०८३
बाँदर धपाउन रूपाकोटका हरेक टोलमा ‘बाली हेरालु’ राखिने
बुधबार १० असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०