दीपेन्द्र सिंह ऐरीको आक्रामक अर्धशतकको बलमा नेपालले आईसीसी टी-२० विश्वकप २०२६ मा स्कटल्याण्डलाई ७ विकेटले पराजित गर्दै १२ वर्षपछि विश्वकप मञ्चमा पहिलो जित दर्ता गरेको छ ।
मुम्बईको ऐतिहासिक वानखेडे स्टेडियममा खेलिएको यस प्रतिष्ठाको खेलमा नेपालले स्कटल्याण्डले राखेको १७१ रनको लक्ष्य १९.२ ओभरमा ३ विकेट मात्र गुमाएर हासिल गर्यो ।
सन् २०१४ मा बंगलादेशमा आफ्नो टी२० विश्वकप अभियान सुरु गर्दा हङकङ र अफगानिस्तानलाई हराएको नेपालले त्यसयता ६ लगातार खेलमा हार व्यहोरेको थियो ।
यसपालि इंग्ल्यान्ड, इटली र वेस्ट इन्डिजसँगको खेल गुमाएर समूह चरणबाटै बाहिरिइसकेको नेपालले अन्तिम खेलमा भने सुखद विजयसहित आफ्नो अभियानको अन्त्य गर्यो ।
टस जितेर बलिङ रोजेको नेपालको सुरुवात भने खासै उत्साहजनक थिएन । स्कटल्याण्डका ओपनर माइकल जोन्स र जर्ज मुन्सेले पहिलो विकेटका लागि ८० रनको साझेदारी गर्दै पहिलो १० ओभरमा १ विकेट मात्र गुमाएर ८० रन बनाए ।
कप्तान रोहित पौडेलले आफैँ बलिङ गर्दै दशौं ओभरमा मुन्से (२७) लाई फर्काएपछि खेलको चित्र बद्लन थाल्यो ।
त्यसपछि डेथ ओभरमा नेपालले कमाल देखायो । सोमपाल कामीले १६औं ओभरमा एकै ओभरमा जोन्स (७१) र म्याकमुलेन (२५) लाई फर्काउँदै खेलको रुख पूरै पल्टाइदिए ।
अन्तिम ५ ओभरमा नेपालले ६ विकेट लिँदा स्कटल्याण्डले जम्मा ३९ रन थप्न सक्यो र ७ विकेट गुमाएर १७० मा सीमित भयो । सोमपालले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए भने नन्दन यादवले २ विकेट चटकाए ।
लक्ष्य पछ्याउन उत्रेको नेपालका ओपनर कुशल भुर्तेल र आसिफ शेखले पावर प्लेमै ५६ रनको साझेदारी गर्दै सानदार सुरुवात दिलाए, जुन यस विश्वकपमा नेपालको सर्वोच्च पावर प्ले स्कोर हो । दुवैले ७४ रनको पहिलो विकेट साझेदारी गरे । भुर्तेलले ४३ र आसिफले ३३ रन बनाए ।
कप्तान रोहित पौडेल (१६) पनि लिस्ककै बलमा आउट भएपछि ९८-३ को अवस्थामा दीपेन्द्र क्रिजमा आए र आफ्नो स्वाभाविक शैलीमा आक्रमण सुरु गरे ।
उनले लिस्कको एक ओभरमा मात्रै २ छक्का र १ चौका हानेर नेपाललाई खेलबाट टाढा जान दिएनन् । अन्ततः ३४ बलमा ४ चौका र ३ छक्काको मद्दतमा अर्धशतक पूरा गर्दै उनले नेपाललाई जित दिलाए ।
यस विश्वकपमा लगातार दोस्रो अर्धशतक बनाएका दीपेन्द्र टी२० विश्वकपमा यस्तो उपलब्धि हासिल गर्ने पहिलो नेपाली खेलाडी बने । गुल्सन झाले अविजित २४ रनको उपयोगी साथ दिए ।
१२ वर्षको प्रतीक्षा सकाउने यो जितले नेपाली क्रिकेटप्रेमीहरूलाई यस विश्वकपको सुखद सम्झना दिएको छ ।