विराटनगर– उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङको आयोजनामा सञ्चालन भइरहेको हिसान स्पोर्ट्स मिट २०८२ अन्तर्गत आज जुट मिल खेल मैदानमा सम्पन्न फाइनल खेलमा कान्तिपुर कलेजले शिक्षादिप कलेजलाई ४ विकेटले पराजित गर्दै उपाधि जितेको छ।
टस जितेर पहिले ब्याटिङ गरेको शिक्षादिप कलेजले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४६ रनको प्रतिस्पर्धात्मक योगफल तयार पारेको थियो। शिक्षादिपका टेकनारायण मण्डलले २५ रन बनाउँदा सत्यमकुमार सडामले २१ रन, शिवम झाले १९ रन र इरफान आलमले १५ रनको योगदान दिएका थिए।
कान्तिपुरका बलरमध्ये सन्तोष गुप्ताले २ विकेट लिँदा सुधिर पामतले पनि २ विकेट लिए। यस्तै सिताराम कामत र अरविन्द मण्डलले समान १–१ विकेट हात पारे।
१ सय ४७ रनको लक्ष्य पछ्याएको कान्तिपुर कलेजले १६ दशमलव ४ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। कान्तिपुरका मोनु दासले उत्कृष्ट ६० रन बनाउँदा सिताराम कामतले ४७ रनको योगदान दिए। कामत फाइनल खेलका ‘प्लेयर अफ द म्याच’ घोषित भए।
विजेता तथा उपविजेता टिमलाई हिसान स्पोर्ट्स मिटको समापन समारोहका अवसरमा भोलि पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ।