काठमाडौं । अखिल नेपाल खेलकुद महासंघले गणतन्त्र दिवसका अवसरमा ‘प्रचण्ड कप’ भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको छ ।
माओवादी केन्द्रको जनवर्गीय संगठनको रूपमा रहेको खेलकुद महासंघले राष्ट्रियस्तरको पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो ।
महासंघको केन्द्रीय समितिको विस्तारित बैठकले प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको महासंघका महासचिव अञ्जन धमलाले जानकारी दिए ।
उनले भने, ‘प्रचण्ड नेतृत्व सरकारले नै भलिबललाई राष्ट्रिय खेल घोषणा गरेकाले गणतन्त्र दिवसका अवसरमा सोही खेलको प्रतियोगिता आयोजना गर्न लागिएको हो,’ धमलाले भने ।
धमलाले थपे, ‘गणतन्त्र स्थापना र भलिबललाई देशको राष्ट्रिय खेल बनाउन अध्यक्ष प्रचण्डको भूमिका महत्त्वपूर्ण रहेको सबैलाई थाहा नै छ । तत्कालीन प्रचण्ड सरकारले भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको थियो। त्यसैले पनि जेठमा नै भलिबल प्रतियोगिता गर्न लागेका हौं ।’
बैठकले महासंघको राष्ट्रिय सम्मेलन सोही वर्षको असार ६ र ७ गते काठमाडौंमा गर्ने निर्णय गरेको छ ।
महासंघले योङ ब्रदर्स तेक्वान्दो क्लबसँगको सहकार्य एसियन मार्सल आर्ट्स गेम्स तथा खेलकुद महोत्सव गर्ने भएको छ। सो मार्सल आर्ट्स गेम्स आगामी जेठ २ र ३ गते गर्ने गरी महासंघले तयारीसमेत थालेको छ ।
महासंघका अध्यक्ष शिव कोइराला ‘ज्वाला’ले नेपाली खेलकुदको विकास, विस्तारसँगै अन्तर्राष्ट्रिय क्षेत्रमा सफलता दिलाउन मद्दत पुग्ने गरी काम गर्न सदैव अग्रसर हुने बताए ।
महासंघको बैठकले १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएको समयमै सम्पन्न गर्न सरकारलाई सचेत गराउँदै खेलाडीहरूको खेल्न पाउने अधिकारबाट वञ्चित नगराउन अपिल समेत गरेको छ ।