बिर्तामोड । राजधानीबाहिरको सर्वाधिक चर्चित झापा गोल्डकपको छैटौं संस्करण आगामी फागुन १९ गतेदेखि हुने भएको छ ।
मंगलबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी आयोजकले फागुन १९ देखि २८ गतेसम्म झापा गोल्डकप आयोजना हुने जानकारी दिएको हो ।
बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा हुने प्रतियोगितामा १० टोलीको सहभागिता रहने छ ।
आयोजक झापा ११ सहित नेपालका सात र विदेशका तीन गरी १० टिमको सहभागिता रहने बताइएको छ ।
प्रतियोगितामा पुरस्कारको राशिलाई समेत यसवर्ष वृद्धि गरी प्रथम पुरस्कार १३ लाख दोस्रो पुरस्कारलाई नगद सात लाख रुपैयाँ बनाइएको छ ।
अघिल्लो वर्षभन्दा यसवर्ष पुरस्कारको राशि ५० हजारले वृद्धि गरिएको आयोजक समितिका अध्यक्ष विनोद बस्नेतले बताए ।
यसैगरी, प्रतियोगितामा मस्ट भ्यालुएवल प्लेयरलाई एक थान मोटरसाइकल, प्रतियोगितामा उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, प्रशिक्षक र उच्च गोलकर्ताले जनही नगद २५ हजार पाउने बताइएको छ ।
प्रत्येक दिनको प्लेयर अफ द म्याचले नगद ११ हजार रुपैयाँ पाउने बस्नेतले बताए ।
प्रतियोगिता सम्पन्न गर्नका लागि नगद एक करोड ४० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजक समितिका कोषाध्यक्ष केदार गिरिले बताए ।