सेनेगल अफ्रिका कप अफ नेसन्स २०२१ को सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार राति भएको अन्तिम क्वार्टरफाइनल खेलमा इक्वाटोरियल गिनीलाई ३–१ गोलले हराउँदै सेनेगलले सेमिफाइनलमा स्थान पक्का गरेको हो ।
यससँगै सेमिफाइनल समीकरणसमेत पूरा भएको छ ।
गए रातिकै अर्को खेलमा इजिप्टले मोरोक्कोमाथि २-१ गोलको जित निकाल्दै अन्तिम चारमा स्थान बनायो ।
सेनेगल र इजिप्टसँगै आयोजना क्यामरुन र बुर्किना फासो अन्तिम चारमा पुगे ।
शनिबार राति ट्युनिसियालाई १–० गोलले हराउँदै बुर्किना फासो सेमिफाइनलमा पुगिसकेको छ ।
सोही दिन क्यामरुनले गामबियालाई २–० ले पाखा लगाउँदै सेमिफाइनल यात्रा तय गरेको हो ।
अब सेमिफाइनलमा सेनेगल र बुर्किना फासो तथा इजिप्ट र आयोजक क्यामरुन फाइनल प्रवेशका लागि खेल्नेछन् ।
क्यामरुनमा जारी एफकन २०२१ को सेमिफाइनल खेल बिहीबारबाट सुरू हुनेछ ।