कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–३ बर्गदामा बसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ७७ वर्षीय लखन अहिर रहेका छन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक राजन ढकालका अनुसार तौलिहवाबाट बहादुरगञ्जतर्फ जाँदै गरेको लु १ ख ९७२६ नम्बरको बसले हुलाकी सडकमा हिँडिरहेका अहिरलाई ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका अहिरलाई उपचारका लागि कपिलवस्तु अस्पताल तौलिहवा पुर्याइएको थियो। तर, अस्पतालले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बसका चालक भने घटनापछि फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।