धनकुटाको पाख्रिबासमा जुवा खेलिरहेको आरोपमा १५ जना पक्राउ परेका छन्। पाख्रिबास नगरपालिका–४ स्थित गणेश गुरुङको घरमा कौडा खेल भइरहेको अवस्थामा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार उक्त घरमा जुवा खेल भइरहेको सूचना पाएपछि खटिएको प्रहरी टोलीले छापा मारेको थियो। सो क्रममा १६ वटा कौडासहित खेलस्थलबाट १६ हजार ५०० रुपैयाँ नगद बरामद गरिएको प्रहरीले जनाएको छ।
यस्तै, पक्राउ परेका व्यक्तिहरूको साथबाट थप २ लाख ९६ हजार ८०० रुपैयाँ फेला परेको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीका अनुसार उनीहरूबाट कुल ३ लाख १३ हजार ३०० रुपैयाँ नगद बरामद भएको छ।
पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय धनकुटामा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।