विराटनगर- जापानको आइची-नागोयामा सम्पन्न २० औँ एसियन गेम्समा भारतले ८५ पदकसहित चौथो स्थानमा रहेर प्रतियोगिताको अन्त्य गरेको छ। भारतले २१ स्वर्ण, २७ रजत र ३७ कांस्य गरी कुल ८५ पदक जितेको हो। पदक तालिकामा चीन पहिलो, आयोजक जापान दोस्रो र दक्षिण कोरिया तेस्रो स्थानमा रहे।
भारतका लागि प्रतियोगिताको अन्तिम चरण विशेष सफल रह्यो। पछिल्ला दुई दिनमा मात्रै भारतले ११ स्वर्ण जित्दै पदक तालिकामा आफ्नो स्थान बलियो बनाएको थियो। कुल पदकका हिसाबले यो भारतको एसियन गेम्स इतिहासमा दोस्रो ठूलो उपलब्धि हो। यसअघि हाङझाउ एसियन गेम्समा भारतले कीर्तिमानी १०६ पदक जितेको थियो।
भारतको सफलतामा क्रिकेट र हक्कीका टोलीगत स्वर्णसँगै आर्चरी, सुटिङ, कुस्ती, बक्सिङ, कबड्डी, गल्फ, स्क्वासलगायत खेलको महत्वपूर्ण योगदान रह्यो। आर्चरी भारतका लागि सर्वाधिक स्वर्ण दिलाउने खेलमध्ये प्रमुख बन्यो भने एथलेटिक्सले समग्र पदक संख्यामा ठूलो योगदान गर्यो।
क्रिकेटमा पाकिस्तानमाथि रोमाञ्चक जित
भारतले पुरुष क्रिकेटको फाइनलमा चिरप्रतिद्वन्द्वी पाकिस्तानलाई १९ रनले पराजित गर्दै स्वर्ण पदक जित्यो। पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २११ रन बनाएको थियो।
भारतका अभिषेक शर्माले ६१ रन बनाए भने तिलक वर्माले आक्रामक ब्याटिङ गर्दै २२ बलमा अविजित ५१ रन जोडे। भारतले दिएको २१२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १९२ रन मात्र बनाउन सक्यो। पाकिस्तानका हसन नवाजले ९६ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। Reuters
यससँगै भारतले एसियन गेम्सको क्रिकेटमा पुरुष र महिला दुवैतर्फ स्वर्ण जित्दै ऐतिहासिक ‘क्रिकेट डबल’ पूरा गरेको छ। महिला टोलीले यसअघि श्रीलंकालाई १४७ रनले हराउँदै स्वर्ण जितेको थियो।
हक्कीमा पनि स्वर्ण, लस एन्जलस ओलम्पिकको टिकट
भारतको पुरुष हक्की टोलीले पनि फाइनलमा मलेसियालाई ५-१ ले पराजित गर्दै स्वर्ण पदक जित्यो। कप्तान हरमनप्रीत सिंहले दुई गोल गरे भने जुगराज सिंह, हार्दिक सिंह र शिलानन्द लकडाले एक-एक गोल गरे।
यो जितसँगै भारतले एसियन गेम्सको पुरुष हक्कीमा लगातार दोस्रो पटक स्वर्ण जितेको छ। यसअघि सन् १९६६, १९९८, २०१४ र २०२३ मा भारतले पुरुष हक्कीको स्वर्ण जितिसकेको थियो। २०२६ को उपाधि भारतको पाँचौँ एसियन गेम्स हक्की स्वर्ण हो।
मलेसियामाथिको जित भारतका लागि अर्को महत्वपूर्ण कारणले पनि विशेष रह्यो। एसियन गेम्सको स्वर्णसँगै भारतले २०२८ को लस एन्जलस ओलम्पिकमा पुरुष हक्कीका लागि सिधै छनोट हुने अवसर प्राप्त गरेको छ।
आर्चरी र सुटिङमा ऐतिहासिक सफलता
भारतले आर्चरीमा पनि उल्लेखनीय प्रदर्शन गर्यो। कुमकुम अनिल मोहोद व्यक्तिगत रिकर्भमा स्वर्ण जित्ने पहिलो भारतीय महिला बनिन्। महिला रिकर्भ टोलीले पनि दक्षिण कोरियाको लामो समयदेखिको प्रभुत्व तोड्दै स्वर्ण जित्यो।
सुटिङमा नीरु धान्डाले महिला ट्र्यापमा स्वर्ण जितेर भारतको ४८ वर्ष लामो प्रतीक्षा अन्त्य गरिन्। नीरु धान्डा र काइनान चेन्नाईको मिश्रित ट्र्याप जोडीले एसियन रेकर्डसमेत बनायो।
गल्फमा प्रनवी उर्सले व्यक्तिगत स्वर्ण जित्दै भारतका लागि नयाँ इतिहास बनाइन्। बक्सिङमा लोभलिना बोर्गोहेनसहित भारतले तीन स्वर्ण जित्यो भने कुस्तीमा अमन सेहरावत र सुजीतले स्वर्ण पदक हात पारे।
पदक तालिकामा चीनको दबदबा
समग्र पदक तालिकामा चीनले १६९ स्वर्णसहित कुल ३४१ पदक जितेर पहिलो स्थान हासिल गर्यो। आयोजक जापानले ८३ स्वर्णसहित २६९ पदक जित्दै दोस्रो स्थानमा रह्यो भने दक्षिण कोरियाले ३९ स्वर्णसहित तेस्रो स्थान हासिल गर्यो।
भारतले २१ स्वर्ण जिते पनि समान स्वर्ण संख्या भएको उज्बेकिस्तानभन्दा बढी रजत पदक भएका कारण चौथो स्थान सुरक्षित गर्यो। उज्बेकिस्तानले २१ स्वर्ण, २५ रजत र २४ कांस्यसहित ७० पदक जित्यो।
भारतले अघिल्लो एसियन गेम्सको १०६ पदकको कीर्तिमान दोहोर्याउन नसके पनि विभिन्न खेलमा नयाँ उपलब्धि हासिल गर्दै प्रतियोगिताको समापन गरेको छ। विशेषगरी हक्की र क्रिकेटमा स्वर्ण, आर्चरीमा ऐतिहासिक उपलब्धि तथा सुटिङ र गल्फमा देखिएको प्रगतिको प्रभाव भारतीय खेलकुदका लागि दीर्घकालीन रूपमा महत्त्वपूर्ण मानिएको छ।