१९ माघ, काठमाडौं । पोखरामा जारी साफ यू–१९ महिला च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले भुटानलाई २–१ ले पराजित गरेको छ।
पोखरा रंगशालामा सम्पन्न खेलमा नेपालको जितमा संगिता बडुवाल र प्रजिता राईले समान एक–एक गोल गरे। संगिताले ३६औं मिनेटमा गोल गर्दै नेपाललाई पहिलो हाफमै अग्रता दिलाइन् भने दोस्रो हाफको ७०औं मिनेटमा प्रजिताले गोल गर्दै अग्रता दोब्बर पारिन्।
भुटानले ८७औं मिनेटमा पूर्णिमा श्रेष्ठको डिफेन्सिभ गल्तीको फाइदा उठाउँदै एक गोल फर्काएको थियो। तर इन्जुरी समयसम्म नेपालले अग्रता जोगाउन सफल भयो।
यस जितसँगै नेपालको फाइनल पुग्ने सम्भावना कायमै रहेको छ। पहिलो खेलमा नेपाल भारतसँग १–० ले पराजित भएको थियो। अब नेपालले लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ।