विराटनगर । संसदीय अभ्यास अनुसारको वादविवाद गर्न सिकाउने लक्ष्यका साथ विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलले आफ्ना विद्यार्थीहरुलाई तीन दिने वादविवाद कार्यशाला सञ्चालन गरेको छ ।
डिवेट नेटवर्क नेपाल (डीएनएन) नामक संस्थासँगको सहकार्यमा एभरेष्टले कार्यशाला सञ्चालन गरेको हो ।
जहाँ कक्षा ६ देखि ११ का वादविवादमा रुचि राख्ने १२० जना विद्यार्थीले सहभागिता जनाएका छन् ।
एभरेष्ट स्कुलको सभा हलहरूमा भइरहेको कार्यशालामा डिएनएनका तीन जना प्रतिनिधिहरु इशान पोखरेल, पीयुष पन्त र आशिमा चालिसेले विद्यार्थीहरुलाई सहजिकरण गरिरहेका छन् ।
कार्यशालामा विद्यार्थीहरुलाई स्पष्ट वक्ता बन्नका लागि चाहिने आवश्यक गुण, वाचनका शैली तथा विषयवस्तुको अध्ययन र प्रस्तुती लगायतका विषयहरुमा सिकाइने छ ।
यसका साथै संसदमा कसरी आफ्ना तर्कहरु राखिन्छ, त्यहाँको मर्यादा कस्तो हुन्छ ? के कस्ता कुराहरुमा ध्यान दिनुपर्छ भन्ने विषयहरूले पनि कार्यशालामा महत्व पाउने विद्यालयका भाइस प्रिन्सिपल कुन्दन पुरीले बताए ।
उनका अनुसार ‘वर्ल्ड डिवेट च्याम्पियनसीप’ को शैली विद्यार्थीहरुले सिक्ने विश्वास विद्यालयको छ ।
विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले आफ्ना तर्क र खण्डनलाई कसरी मर्यादित भएर प्रस्तुत गर्ने ? तथा नेपालको संसदीय अभ्यास तथा शक्तिशाली र सम्पन्न राष्ट्रहरुको संसदीय अभ्यासका विषयमा पनि जानकारी दिलाउन यो कार्यशाला प्रभावकारी हुने बताए ।
उनले भने,‘ नेपालको संसदीय अभ्यास हेर्दा कहिलेकाँही मर्यादा विपरीत भएको देखिने गरेको छ, त्यसैले भोलिका कर्णधारहरुलाई बेलै देखि यसरी अभ्यास गराउन आवश्यक छ ।’
अन्तर्राष्ट्रिय स्तरमा आफ्ना विद्यार्थीलाई सहभागिता गराउँदै अघि बढेको एभरेष्टले त्यस्ता फोरमहरुमा पनि अब्बलता प्रस्तुत गरेको छ ।
आफ्नै विद्यार्थीहरु बिच संयुक्त राष्ट्रसंघको नमुना अभ्यास कार्यक्रम गरेको एभरेष्टका विद्यार्थीहरुले त्यस्तै कार्यक्रममा विभिन्न मुलुकका विद्यार्थीहरुमाझ भियतनाममा उत्कृष्ट प्रस्तुती गरेर फर्किएका छन् ।
एभरेष्टकै इशल भट्टराईले थाइल्याण्डमा सम्पन्न अन्तर्राष्ट्रिय स्तरको वक्तृत्वकलामा सेमिफाइनलमा उत्कृष्ट प्रस्तुति दिएर फाइनल स्पर्धामा भाग लिन चीन गएका छन् ।