विराटनगर । केही वर्षअघिसम्म नेपालमा खेल क्षेत्रका रूपमा फुटबलको एकछत्र प्रभुत्व थियो । क्रिकेट, भलिबल, टेबलटेनिस, ब्याडमिन्टन, एथ्लेटिक्सलगायत खेलहरू उपेक्षितजस्तै थिए । विशेषगरी, नेपालमा खेलकुद क्षेत्रको बजेट वितरण फुटबलतिर मात्र खन्याइनु, एन्फा सर्वाधिक बलियो संरचनाका रूपमा स्थापित भएको कारण राजनीतिक प्रभाव फुटबलतर्फै आकर्षित् थिए ।
त्यतिमात्र नभएर मिडिया र जनचासो पनि फुटबलतिरै थियो । तर, ‘ए’ डिभिजन लिग नियमित रूपमा नहुनु, राजनीतिक अस्थिरता र खेलकुद क्षेत्रमा राजनीतिको हालीमुहालीले आफूहरूको भविष्य अन्योल हुँदा फुटबल खेलाडीले पलायनको बाटो रोजिरहेको छन् । फुटबल क्षेत्रको विवाद मैदानभित्र र मैदानबाहिर सबैतिर छताछुल्ल रहेको अवस्थामा खेलाडी स्वयम् आन्दोलित छन् ।
पछिल्ला वर्षहरूमा एन्फा अस्तव्यस्त देखिँदा नेपाली क्रिकेट क्षेत्रले फट्को मारिरहेको अवस्था छ । यसको पछिल्लो उदाहरण हो, नेपाली क्रिकेटको महाकुम्भ मानिने नेपाल प्रिमियर लिग (एनपिएल) । सन् २०२४ देखि सुरु भएको हिमालयको पर्वका रूपमा परिचित एनपिएलले हाल निरन्तरता मात्र पाएको छैन, विश्व क्रिकेटको ध्यान आफूतिर आकर्षित गरेको छ ।
करोडौँको लगानी, ठुलो संख्यामा सुपरस्टार विदेशी क्रिकेटरहरूको आगमन, विश्वकै अग्रणी स्पोट्र्स च्यानल स्टार स्पोट्र्समा प्रत्यक्ष प्रसारण, त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नतिका साथ नेपालमा क्रिकेटको क्रेजले गर्दा एनपिएलले व्यापक चर्चा बटुल्दै आएको छ ।
एनपिएलको अवधारणाको श्रेय भने क्यानका सचिव पारस खड्कालाई जान्छ भन्दा अत्युक्ति नहोला ! क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सुम्पिएको जिम्मेवारीलाई पूरा गर्दै पारसले एनपिएलको अवधारणा अगाडि सारेका थिए, जुन अहिले विश्व क्रिकेट समुदायबीच चर्चाको शिखरमा छ ।
सन् २०१९ मा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले गराएको निर्वाचनमार्फत पहिलो पटक वैधानिक रूपमा अध्यक्ष चुनिएका चन्दले दोस्रो बैठकबाट क्यानको आफ्नै लिग हुनुपर्छ भन्ने निर्णय गराएका थिए । त्यसबेला फ्रेन्चाइ एभरेस्ट प्रिमियर लिग, धनगढी प्रिमियर लिग र पोखरा प्रिमियर लिगले क्षेत्रीय लिगका रूपमा मान्यता पाएका थिए ।
आफ्नै लिगका रूपमा क्यानले सोही अवधारणामै नेपाल टी–२० लिगको आयोजना गरेको थियो । तर, राम्रो माहोल बन्न नसक्दा नेपाल टी–२० लिग क्यानका लागि एउटा सिकाइको खुट्किलो मात्र बन्यो । जसपछि, चन्दले पारसलाई संयोजक तोकेर अधिकार सम्पन्न तीन सदस्यीय संयोजक कमिटी बनाए । पारस नेतृत्वको टोलीले एनपिएलका लागि आइसिसीसँग समन्वय ग¥यो । सरोकारवाला तथा विज्ञसँग छलफल ग¥यो । स्ट्राटेपजक एन्ड कमर्सियल राइट्स राम्रोलाई दियो । जसले एनपिएलको लोकप्रियतालाई बढाउन महत्वपूर्ण भूमकिा खेल्यो । सो कम्पनीले एनपिएलको हाइट बनायो । ठुलै रकम खर्चेर विश्वको अग्रणी खेल च्यानल स्टार स्पोट्र्समा प्रत्यक्ष प्रसारण ग¥यो ।
एनपिएलले नेपाली घरेलु क्रिकेटलाई लोकप्रियताको शिखरमा पु¥याउने काममात्र गरेन खेललाई व्यावसायिक बनाउन सक्छ भन्ने उदारहण पनि प्रस्तुत ग¥यो । त्यसबाहेक आर्थिक चलायमान बनाउन पनि मद्दत ग¥यो । पहिलो संस्करणमा करिब एक अर्ब रुपैयाँको कारोबार भयो । त्यससँगसँगै देशको पहिचान गराउन सफल एनपिएल हेर्न आउने पर्यटकहरूले देशभरका होटेल चलायमान भए । अझ, विदेशी स्टार क्रिकेटहरूको आगमनपछि नेपालका बारेमा विश्वकै चासो बढ्यो । अनि, नेपाली क्रिकेटहरूलाई पनि व्यक्तिगत फाइदा भयो । पुरस्कार राशिबाकेक पनि नेपाली क्रिकेटरहरूले विदेशी खेलाडीसँग अनुभव साट्न पाए । यसरी हेर्दा एनपिएलले विश्व क्रिकेटको ध्यान खिच्न सफल भयो ।
अब, सोमबारबाट सुरु हुने दोस्रो संस्करणको एनपिएलले विश्व क्रिकेट समर्थकको नजरमा खिच्नेमा कुनै दुई मत छैन । कीर्तिपुरस्थित त्रिवि रंगशालामा आगामी तीन सातासम्म हुने दोस्रो सिजनको एनपिएलका अधिकांश खेल फ्लडलाइटको सहायतामा हुने छ । अझ, दर्शकलाई रंगीविरंगी कुर्सीहरूमा बसेर हेर्ने व्यवस्था मिलाइएको कारण पनि अघिल्लो संस्करणमा जस्तो दर्शकले घाँसे मैदानमा बसेर अनि रुखमा चढेर हेर्नुपर्ने बाध्यता टरेको छ ।
हाल खेल हुने एकमात्रै त्रिवि क्रिकेट मैदानमा ६ वटै फ्लडलाइट जडान भएको छ । यस्तै, स्थायी १० हजार र तीन अस्थायी गरी कुल १३ हजार सिट जडान भएका छन् । सिद्धार्थ बैंकको मुख्य प्रायोजनमा रहेको एनपिएलमा पुरस्कार राशिमा भने वृद्धि गरिएको छैन । आठ फ्रेन्चाइज टोलीको सहभागिता रहेका प्रतियोगिताको विजेता टोलीलाई पुरस्कारस्वरुप रु एक करोड १० लाख प्रदान गरिनेछ उपविजेता टोलीले भने रु ५१ लाख प्राप्त गर्नेछ । तेस्रो स्थान हासिल गर्ने टोलीले रु २५ लाख तथा चौथो हुनेले रु १५ लाख प्राप्त गर्नेछ ।
तथापि, अघिल्लो संस्करणमा भन्दा यसपटक एनपिएल आयोजनाबाट ठूलो रकम आर्जन हुने क्यानको अपेक्षा छ । यो संस्करणमा विभिन्न स्पोन्सर, टिकट र अन्यमार्फत करिब ३० देखि ४० करोड रुपैयाँसम्म आम्दानी हुनेछ । टिम ओनर पक्षबाट मात्र करिब ९ करोड रुपैयाँ जुटिसकेको छ । ओटीटी प्रसारण अधिकारबाट ५ करोड ३० लाख रुपैयाँ प्राप्त हुनेछ । यसलाई यस पटक लिगको प्रमुख आम्दानी स्रोत मानिएको छ ।
यसका अतिरिक्त टिकट बिक्रीबाट न्यूनतम ८ करोडदेखि अधिकतम १२ करोड रुपैयाँसम्म उठाउने लक्ष्य क्यानको छ । मैदानको क्षमतासहित खेलप्रति बढ्दो रुचि हेर्दा यो रकम अझ बढ्न सक्ने सम्भावना छ । मुख्य तथा अन्य स्पोन्सरसिपबाट करिब १५ करोड रुपैयाँ सम्मको प्याकेज सुरक्षित भएको छ । यससँगै एनपीएलको दोस्रो संस्करणले कुल आय ३०–४० करोड रुपैयाँको हाराहारीमा पार गर्न सक्ने अनुमान गरिएको छ ।
सोमबार बिहान १० बजे हुने उद्घाटन खेलमा साविक विजेतासमेत रहेको जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजले खेल्ने छन् । जनकपुर र काठमाडौंसँग एनपिएलमा विराटनगर किंग्स, चितवन राइनोज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सले उपाधिका भिडन्त गर्ने छन् ।