विराटनगर । कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वविद्यालयको आंगिक शिक्षालय मनमोहन पोलिटेक्निकका विद्यार्थीहरूले मादक पदार्थ सेवन चेकजाँच गर्नसक्ने उकपरण बनाएका छन् ।
पोलिटेक्निकको डिप्लोमा मेकानिकल तर्फका तेस्रो वर्षका विद्यार्थीले सवारीमा चालक आफैंले आफनो अल्कोहल टेस्ट गर्नसक्ने उपकरण निर्माण गरेका हुन् ।
उनीहरूले ६ महिना लगाएर कुनै पनि सवारीमा जडान गरेर चालकले कति प्रतिशत अल्कोहल खाएको छ र चलाउन सक्ने अवस्थामा छ-छैन भन्ने पत्ता लगाउन सक्ने उपकरण बनाएका हुन् ।
विद्यार्थीहरूका अनुसार अल्कोहल उपकरणलाई स्तरोन्नति गरेर कार, मोटरसाइकल, बस, ट्रक जुनसुकै सवारीको इन्जिनमा जडान गर्न सकिन्छ ।
यदि, चालकले ४० प्रतिशतभन्दा बढी रक्सी सेवन गरेको रहेछ भने उक्त उपकरणले तत्काल सिग्नल दिनसक्छ ।
जसले ‘तिमिले धेरै रक्सी खाएका छौं, यसैले सवारी चलाउन योग्य छैनौं’ भन्ने सन्देश दिन्छ ।
यसैले यो उपकरणले दुर्घटना न्युनीकरण गर्न सहयोग पुर्याउने पोलिटेक्निकका इन्जिनियर तथा शिक्षक दिपेन्द्र यादवले बताए ।
उनका अनुसार चालु शैक्षिक सत्र मेकानिकल इन्जिनियरिङ तेस्रो वर्षका विद्यार्थीहरूले विभिन्न पाँचवटा अविष्कारहरू गरेका छन् ।
गियरवाला विद्युत्तीय मोटरसाइकलको पनि निर्माण
मनमोहन पोलिटेक्निकलकै इन्जिनियरिङ तर्फका विद्यार्थीहरूले गियरवाला विद्युत्तीय मोटरसाइकल पनि निर्माण गरेका छन् ।
विद्यार्थीहरूका अनुसार हाल बजारमा सञ्चालन भइरहेका इलेक्ट्रिक मोटरसाइकलहरूमा गियरको प्रबन्ध छैन ।
यो प्रविधिलाई स्तरोन्नति गरेर बजारमा गियरवाला मोटरसाइकल सञ्चालन गर्न सकिने शिक्षक तथा इन्जिनियर रामकुमार यादवले जानकारी दिए ।
इन्जिनियर रामकुमार यादवका अनुसार चालू वर्ष इन्जिनियरिङतर्फका विद्यार्थीले पाँचवटा र इलेक्ट्रिक इन्जिनियरिङतर्फका विद्यार्थीले विभिन्न तीनवटा आविष्कारहरू प्रर्दशन गरेका छन् ।
विद्यार्थीहरूले सोमबार पोलिटेक्निक परिसरमा बेट्रीबाट चल्ने ह्विल चेयर, हाइड्रो पावर, ट्रान्सफर्मर इलेक्ट्रिक कन्ट्रोलर र स्वचालित कार, अल्कोहल टेस्ट डिभाइस, गियरवाला इलेक्ट्रिक मोटरसाइकल आदि विभिन्न अविष्कारहरू प्रर्दशन गरेका हुन् ।
विद्यार्थीहरूले गरेको आविष्कारको प्रर्दशन मनमोहन प्राविधिक विश्वविद्यालयका उपकुलपति डा. सुवासश्री पोखरेल रजिष्टार डा. दिलनाथ फुयाल, उद्योगी सोम घिमिरे, समाजिक विकास मन्त्रालयका उपसचिव फणिन्द्र खत्रीलगायतले अवलोकन गरेका थिए ।