सरकारले सडक दुर्घटना तथा विभिन्न विपद्का घाइतेलाई प्रदेशस्तरमै सहज र गुणस्तरीय उपचार उपलब्ध गराउन सातै प्रदेशमा प्रादेशिक ट्रमा सेन्टर स्थापना गर्ने भएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले राष्ट्रिय ट्रमा सेन्टरको १३औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै यस्तो जानकारी दिएकी हुन्।
उनका अनुसार आवश्यक उपकरण, दक्ष जनशक्ति, विशेषज्ञ चिकित्सक टोली र प्रभावकारी व्यवस्थापनसहित प्रादेशिक ट्रमा सेन्टर सञ्चालन गरिनेछ। यसबाट सामान्य तथा मध्यम प्रकृतिका चोटपटकको उपचार प्रदेशमै सम्भव हुनुका साथै बिरामीलाई अन्य अस्पतालमा पठाउने प्रक्रिया पनि व्यवस्थित हुने अपेक्षा गरिएको छ।
मन्त्री मेहताले दुर्घटनापछि अस्पताल पुग्नुअघिको आकस्मिक उपचार सेवालाई प्रभावकारी बनाउन सरकारले एम्बुलेन्स सेवा निर्देशिका, २०८२ लागू गरिसकेको जानकारी दिइन्। देशभर एउटै आकस्मिक नम्बर १०२ मार्फत सेवा उपलब्ध गराउन संघीय तथा सातै प्रदेशका स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रलाई चौबिसै घण्टा सक्रिय बनाइएको उनले बताइन्।
सरकारले एम्बुलेन्सलाई सामान्य यातायातको साधनमा सीमित नराखी आकस्मिक उपचार सेवा प्रदान गर्न सक्ने साधनका रूपमा विकास गर्ने नीति लिएको पनि उनले उल्लेख गरिन्।
त्यस्तै, ट्रमा उपचारलाई शल्यक्रिया र औषधिमा मात्र सीमित नगरी शारीरिक पुनर्स्थापना तथा मनोसामाजिक परामर्श सेवासमेत विस्तार गर्नुपर्नेमा मन्त्री मेहताले जोड दिइन्। दुर्घटनापछि देखिन सक्ने अपाङ्गता र मानसिक समस्यालाई सम्बोधन गर्न पुनर्स्थापना सेवा संस्थागत गरिने उनको भनाइ छ।
राष्ट्रिय ट्रमा सेन्टरको सेवा विस्तार र संस्थागत सुदृढीकरणका लागि मन्त्रालय सकारात्मक रहेको उल्लेख गर्दै उनले संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) स्वीकृति र दरबन्दी व्यवस्थापनका विषय छिट्टै टुङ्ग्याइने बताइन्।
विपद्, महामारी र सवारी दुर्घटनाका समयमा अग्रपङ्क्तिमा रहेर सेवा दिँदै आएको राष्ट्रिय ट्रमा सेन्टरको क्षमता विस्तारले विशेषज्ञ उपचारका लागि विदेश जानुपर्ने बाध्यता कम गर्न सहयोग पुग्ने उनको भनाइ थियो। वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरबीचको सहकार्य थप सुदृढ गर्दै ट्रमा उपचार सेवालाई प्रभावकारी बनाउने प्रतिबद्धता पनि उनले व्यक्त गरिन्।