विराटनगर । गत कात्तिक १५ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ प्रदर्शनको २१औं दिनमा पनि उत्तिकै चर्चामा छ ।
सरोज पौडेल निर्देशित फिल्मको व्यापार र प्राप्त सोले अहिलेसम्मको सबै रेकर्ड तोडिसकेको छ ।
फिल्मले सुरुवाती दिनमा अपेक्षित सो नपाए पनि हलहरूमा दर्शक अचानक बढ्न थालेपछि सो संख्या थपिँदै गएको थियो ।
गत आइतबारसम्मको तथ्यांक अनुसार फिल्मले देशभरबाट ३६ करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको छ ।
निर्माता विनोद पौडेलका अनुसार आइतबारयताका तथ्यांक आगामी सोमबारमात्र सार्वजनिक गरिनेछ ।
नेपालमा मात्र नभई विदेशमा पनि फिल्मले उत्साहजनक व्यापार गरिरहेको छ ।
मंगलबारसम्मको तथ्यांक अनुसार अमेरिकामा मात्र फिल्मले ५ लाख डलरको व्यापार गरेको छ ।
त्यसैगरी अस्ट्रेलिया र न्युजिल्यान्डमा ८ लाख ५० हजार डलरको व्यापार गरेको छ ।
बाँकी देशहरूको पछिल्लो तथ्यांक भने सार्वजनिक हुन बाँकी नै छ ।
यस चलचित्रले गन्धर्व समुदाय केवल एक कथा मात्र नभई, समाजका विभिन्न वास्तविक र गहिरो जरा गाडिएका वर्गीय विभाजनका पीडालाई मर्मस्पर्शी रूपमा उजागर गरेको छ ।