विराटनगर । कप्तान क्रिस्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा पोर्चुगलले युइएफए नेसन्स लिगमा विजयी हासिल गरेको छ ।
बिहीबार राति पोर्चुगलको राजधानी लिस्बनमा भएको खेलमा रोनाल्डो आफ्नो खेल क्यारियरकै ९०० गोलको कोसेढुंगा पार गर्दा पोर्चुगलले क्रोएसियालाई २–१ ले पाखा लगाएको हो ।
यो गोलसँगै ३९ वर्षीय रोनाल्डोको नाममा अन्तर्राष्ट्रिय पुरुष फुटबलमा १३१ गोलको कीर्तिमान बनेको छ । फुटबल क्यारियरमा क्लब र देशका लागि ९०० गोल गर्ने उनी पहिलो खेलाडीसमेत बनेका छन् ।
पोर्चुगलको जितमा रोनाल्डो र डियोगो डालोटले गोल गरे । क्रोएसियाले भने एउटा आत्मघाती गोल उपहारमा पाएको थियो । सातौं मिनेटमा डियोगोले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए ।
३४औं मिनेटमा रोनाल्डोले गोल गरेपछि पोर्चुगलले २–० को अग्रता बनायो । तर, ४१औं मिनेटमा क्रोएसियाले उपहार गोल पायो। पोर्चुगलका डालोटले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि पहिलो हाफमा खेल २–१ को अवस्थामा सकियो ।
त्यसपछि दोस्रो हाफमा दुवै टोलीबाट थप गोल नहुँदा खेलमा पोर्चुगल २–१ ले विजयी भयो । यसै समूहको खेलमा पोल्यान्डले स्कटल्यान्डलाई ३–२ गोलले पराजित गर्यो ।