र्याप रियालिटी शो ‘नेपहपको श्रीपेच’ मङ्गलबारदेखि प्रसारण हुने भएको छ ।
इमेज च्यानलमा प्रत्येक मङ्गलबार र बुधबार राति ८ देखि ९ बजेसम्म कार्यक्रम प्रसारण हुने जनाइएको छ ।
पोखरा अडिसनबाट सुरु गरिने शोमा काठमाडौँ, पोखरा, बुटवल, चितवन र इटहरी अडिसनबाट छानिएका एक सय २३ जनाले प्रतिस्पर्धा गर्नेछन् ।
अडिसन राउन्ड सकिएपछि टपिक र ब्याटल राउन्ड हुनेछ । ४० जनाले टपिक राउन्डमा प्रतिस्पर्धा गर्ने छन् । भोटिङको आधारमा ४० प्रतिस्पर्धी मध्य चारजना फाइनलमा पुग्नेछन् ।
आयोजकका अनुसार शोको विजेतालाई १० लाख र दोस्रो हुनेलाई पाँच लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिनुका साथै वर्ल्ड टुर पनि गर्न पाउने छन् ।
ओएसआर डिजिटलको सहकार्यमा सुदीप पोखरेल र रोशन श्रेष्ठले ‘नेपहपको श्रीपेच’ निर्माण गरेका हुन् । र्यापरहरू बालेन शाह, गिरिश खतिवडा, मानष घले शोमा जजको रुपमा छन् ।
साथै, शोमा मिस्टर डी, डेजेन र कवि-जी प्रि–जजहरूको रूपमा रहेका छन् । हिपहप र र्याप गायनमा आधारित रियालिटी शोको ग्राण्ड ओपनिङ यसै साता सम्पन्न भइसकेको छ ।