चर्चीत र्यापर लाउरे नामबाट परिचित आशिष रानालाई जिल्ला अदालत कास्कीले धरौटीमा छाड्न आदेश दिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाका अनुसार लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका रानालाई ५० हजार धरौटीमा छाड्न आदेश दिएको हो ।
प्रहरीले लाउरेसँगै अरू थप तीन जनालाई पुस १४ गते पोखरा महानगरपालिका -८ स्थित जाल्पारोडबाट पक्राउ गरेको थियो ।
प्रकाउ परेका ध्रुबबहादुर थापा, नविनकुमार गुरुङ र सुस्मिता गुरूङलाई भने पुर्पक्षमा पठाइएको छ । उनीहरूमाथि ब्राउन सुगर कारोबार गरेको आरोप छ । लाउरे टेलिभिजन रियालिटी शो हिमालयन रोडिजका निर्णायक पनि हुन् ।
र्याप ब्याटल रअ बार्जबाट चर्चामा आएका लाउरे केस नम्बर ४२०, नेपहपको बाटो, मेरो सोल्टा, सुपर सागालगायत चर्चीत गीतहरू गाएका छन् ।
उनले ताण्डव नामक फिल्ममा समेत अभिनय गरेका छन् ।