हुन त भाैतिक शरीर भन्नु फगत हड्डी र मासु नै हो ।
तर पनि हरेक मानिस चाहन्छ, उमेरअनुसारको तौल, ह्रस्टपुस्ट र मिलेको आकर्षक शरीर ।
यो चाहना ममा पनि नभएको होइन ।
तर मैले जति प्रयास गर्दा पनि एक केजीसम्म तौल बढाउन सकिनँ ।
जब म १९ वर्षबाट २० प्रवेश गर्दै थिए त्यो बेलादेखि नै मलाई उचाइ र उमेरअनुसारको तौल नभएकोले एक प्रकारको चिन्ता लाग्न थालिसकेको थियो ।
यसैले त म मोटाउनका लागि हरप्रयास गरेकै हुँ ।
मोटाउनका लागि मैले गुगल र युट्युबको सहारा पनि लिएँ ।
त्यहाँका विज्ञ भनौदाले दिएको सुझाव अपनाएकै हुँ ।
उनीहरूले भनेअनुसार फिजिकल एक्सरसाइज र खानपानमा ध्यान पनि दिएकै हुँ ।
तर मेरो साविकको तौलमा एकपाउ पनि तौल ‘गेन’ भएन ।
शरीरका अङ्ग उत्रै छन्, केही मोटाएनन् ।
‘‘अरू आर्थिक सम्पन्नताका लागि विदेश जान्छन्, म भने मोटाउने लक्ष्य लिएरै विदेश पुगेकाे थिएँ । किनकि, धेरैको सुझाव थियो : खानपानको सेडुअल मिल्यो भने पक्का मोटाइन्छ ।’’
नेपालमा नै बस्दा मोटाउने सपना साकार नहुने जस्तो लाग्यो ।
मेरोजस्तै अस्थिपन्जर र सिन्काजस्तो पातलो ज्यान भएका राम दाइ, कृष्ण दाइ र हरि दाइ विदेश बसेर नेपाल फर्किँदा बच्चा पाउने गर्भवती महिलाका भन्दा ठुला पेट लिएर मोटाघाटा भई नेपाल फर्केको मैले विचार गरिरहेको थिएँ ।
गाउँबाट विदेश अरू आफ्नो आर्थिक स्थिति मजबुत बनाउन जान्छन् तर म भने विदेश गएपछि मोटाइन्छ कि भन्ने आशमा विदेश हानिएको थिएँ ।
हतार–हतार पासपोर्ट बनाएर डिमान्ड खोज्न मेनपावर भौतारिएँ ।
कहिले इटहरी त कहिले काठमाडौँ सम्म पुगेँ ।
दुई महिनाको सङ्घर्षपश्चात मलेसियाको एउटा कम्पनीबाट भिसा आयो ।
अब, मोटाइएला भन्नेमा विश्वस्त थिएँ, यसैले धेरै खुसी भएँ ।
मसँग एउटै कम्पनीमा काम गर्न जाने २० जनाको समूह थियो ।
जसमध्ये एकजना साथी मजतिकै पातलो तर मभन्दा दुई इन्चजति अझै अग्लो थियो ।
आफ्नैजत्रो शरीर भएको मान्छे देख्दाचाहिँ ज्यादै खुसी लाग्दो रहेछ ।
हुन त ऊ पैसा कमाउन विदेश जान लागेको थियो होला तर मैलेचाहिँ हतारमा मजस्तै मोटाउने आशाले विदेश जान लागेको हो कि भनेर मनमनै सोच्न भ्याइहालेँ ।
पहिलोपटक ठुलो चिल चढ्दै थिएँ, उत्साह ठुलो थियो ।
झन्, उत्साही थिएँ मोटाउने आशामा ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मजस्तै बाहिर जानेको लस्कर थियो ।
हातमा पासपोर्ट बोकेर वैदेशिक रोजगारमा जाने लाइनमा म पनि थिएँ ।
आधा घन्टाको लाइनमा उभिएर बोर्डिङ पासपश्चात वेटिङ रुममा पुगेर बाहिर हेर्दा प्लेन आउने र जाने क्रम चलिरहेको थियो ।
केही नेपाली प्यासेन्जर ब्याकग्राउन्डमा प्लेन आउनेगरी सेल्फी खिच्नमा मस्त देखिए ।
त्यो रमिता हेर्नमा व्यस्त थिएँ म ।
फ्लाइटको समय भएपछि प्लेन चढ्नतिर लाग्यौँ ।
तर मेरा अगाडि भएका सबै भर्याङ नै अवरोध गरेर सेल्फी खिच्न थालेँ ।
म भने त्यसमध्येको फरक देखिएँ, अझ भनौँ परम्परा नै तोडिदिएँ । खिचिनँ फोटो ।
सबै जना आ–आफ्नो सिटमा बसिसकेपछि म प्लेनभित्र छु यता हेर भन्दै केही मानिसहरू भिडियो कल गर्दै थिए ।
कोही कोही त प्लेन उडिसकेपछि पनि एयरहोस्टेजले भनेको नटेरी नेटवर्क भएसम्म भिडियो कलमै मस्त थिए ।
कोही प्लेन माथिबाट तल पृथ्वीमा देखिएका घर र रोडहरूको फोटो खिच्दै थिए ।
जे होस् सबै जना आ–आफ्नै तालमा थिएँ मचाहिँ सबै जना के गर्दै छन् चुपचाप हेरिरहेको थिएँ ।
दुई घन्टापछि हामी कोलालम्पुर एयरपोर्टमा ल्यान्ड भयौँ ।
पहिलोपटक विदेश आएको म अबचाहिँ हराउछु कि भनेर पहिले पनि मलेसिया आइसकेका पुराना साथीहरूलाई पछ्याउन थालेँ ।
नेपालको सिम चल्ने कुरा भएन तर वाइफाइ फ्री भएकाले आफ्नो घरपरिवार आफन्त र केही साथीहरूलाई फेसबुकबाट म्यासेज गरेर सकुसल मलेसिया पुगेको जानकारी गराएँ ।
हाम्रो ग्रुपका सबै जना इमिग्रेसनको नियमअनुसार आफ्नो डकुमेन्ट देखाइ एयरपोर्टबाहिर निस्कियौँ ।
रात परिसकेको थियो तर नेपालभन्दा धेरै झिलिमिली देखिन्थ्यो मलेसिया ।
हामीलाई लिन कम्पनीबाट एकजना कम्पनीका प्रतिनिधि र दुईवटा बस आएका थिए ।
हाम्रो कम्पनी पेनाङमा रहेछ ।
हामी खाजा खाएर बसमा चढेर पेनाङतर्फ लाग्यौँ ।
त्यसपछि काममा लागियो ।
ड्युटी–कोठा अनि कोठा–डुयुटी हुने गरेका कारण खानपान मिल्न थालेको थियो ।
खानपानमा सेडुअल मिल्यो भने मोटाइन्छ भनेर धेरैले भनेको सुनेको थिएँ ।
यसैले पनि म ढुक्क थिएँ मोटाउनेमा ।
काम गर्न थालेको पनि दुई महिना बितिसकेको थियो ।
नेपालबाट आएभन्दा अरू साथी मोटाउन थालिसकेका थिए ।
म आफ्नो तौल प्रत्येक दिन चेक गर्थेँ उहीँ ४५ केजीमात्र ।
परिवर्तन भएको भनेको त्यही छालाको कलर मात्र ।
पहिले नेपालमा अलिक कालो थिएँ, मलेसियामा अलिक गोरो भएँ ।
सेडुअल मिल्दा पनि मोटाइएन ।
मोटाउने आफ्नो चाहना म मेरा साथीहरूलाई दिनदिनै सुनाउँथे ।
मेरो निराशापन देखेर उनीहरूले मलाई जिम जान सुझाए ।
जसतसो आरामको समय कटाएर जिम जान थालेँ ।
दूध, केरा, प्रोटिन, अन्डा, फलफूल महिनाको तलब नै सकिने गरी खाइन्थ्यो ।
शरीरमा केही फरकपना महसुस नभएपछि जिम जान छोडेँ ।
जिममा बगाएको पसिना काम लागेजस्तो लागेन ।
”मोटाइएन भने राति सुत्ने बेलामा एउटा क्यान बियर र मासु नियमित खानु पर्छ भनेर साथीले सुझायो, साेही उपाय अवलम्बन गर्नाले बियरको लतले छोडेन ।”
एकपटक एक जना साथीले केही गर्दा मोटाइएन भने राति सुत्ने बेलामा एक क्यान बियर र मासु नियमित खान पर्छ शतप्रतिशत मोटाइन्छ भनेर सुझायो ।
म जिन्दगीमा कहिल्यै बियर नखाएको मान्छे मोटाउने चक्करमा बियर पनि खान थालेँ ।
सुरुसुरुमा त दबाइ खाएझैँ मुख बटार्दै खान पर्थ्यो ।
१५ दिनपछि चाहिँ अलिक सहज रूपमा नै खान सक्ने भएँ ।
नियमित दुई महिना बियर खाएर ट्राइ गर्दा पनि उहीँ ४५ नै केजी छु, न घट्छु न बढ्छु ।
बियरले मोटाउने छाँटकाँट नदेखेपछि छोडिदिने विचार गरे तर दुई महिनासम्म अल्कोहल कन्ज्युम गरेको शरीरले अल्कोहल खोज्दो रहेछ ।
मोटाउने चक्करमा बियरको लत बसेछ ।
मोटाउने लक्ष्यमा खान थालेको बियरले छोडेन मलाई ।
बरु जानेसुनेका सबै उपाय अवलम्बन गर्दा पनि म मोटाइनँ ।
विदेशमा पनि मोटाउने आश हराएपछि दुई वर्षपछि पुनः नेपाल नै फर्किएँ ।
दुब्लो मान्छेलाई जसैगर्दा पनि सकस छ ।
मन परेको पेन्ट किन्यो कम्मर ठुलो हुन्छ ।
आफ्नो कम्मरको साइज २७ छ ।
२७ को पेन्ट किन्यो हाइट अग्लो भएको कारण हाल्फ पेन्ट हुन्छ ।
शरीरमा लगाएको लुगा ह्ययाङरमा झुन्डाएको जस्तो देखिन्छ ।
नयाँ लुगा लगाएर ऐना हेर्दा बाली खान्छ भनेर चरा तर्साउन खेतमा राखेको बुख्याँचाजस्तो देखिन्छ ज्यान ।
अरू सबै मोटाउछन्, आफूचाँहि कसरी मोटाउने भन्ने टेन्सनले झन् दुब्लाउँदै जाने भइयो ।
दुब्लाएर एक केजीको भएर मृत्यु भए पनि बब मार्लीको रेकर्ड तोडेर गिनिज बुकमा नाम लेखिने थियो ।
अचेलचाहिँ अब मोटाउन नसकिने रहेछ भनेर खासै तनाब लिन्नँ तर अपरिचित केटाहरूले ‘सोल्टी गाँजा छैन’ भनेर हैरान नै पार्छन् ।
उनीहरूको मप्रति गर्ने व्यवहारले पुनः मोटाउन मन लाग्छ ।
तर फेरि मैले अवलम्बन गर्ने उपायहरूले पार लगाउँदैनन् ।
यसैले घरिघरि आफैँलाई धिक्कार्छु, धत् ! जसैगर्दा पनि मोटाउन सकिएन ।