इङ्ग्लिस क्लब चेल्सी कारबाओ कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति सेमिफाइनलको दोस्रो लेगमा टोटनहमलाई १–० गोलले हराएर चेल्सी अन्तिम दुईमा पुगेको हो ।
गए रातिको जितसँगै चेल्सीले टोटनहमविरुद्ध समग्रमा ३–० को नतिजा निकाल्यो । अघिल्लो लेगमा पनि टोटनहम चेल्सीसँग २–० गोलले पराजित भएको थियो ।
गए राति टोटनहमको घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन एन्टोनियो रुडिगरले एकमात्र गोल गरेका थिए । पहिलो हाफको १८औँ मिनेटमा उनले गरेको गोलको सहायतामा चेल्सी उपाधि नजिक पुगेको हो ।
अब चेल्सीले उपाधिका लागि आर्सनल र लिभरपुलबीचको विजेता टिमसँग प्रतिस्पर्धा गर्नेछ । लिभरपुल र आर्सनलबीचको सेमिफलाइनलको पहिलो लेगको खेल आज हुँदै छ ।
कोभिडका कारण लिभरपुल र आर्सनलबीचको खेल स्थगित हुन पुग्दा खेल तालिका प्रभावित बनेको हो । दोस्रो लेगको खेल भने २० जनवरीमा हुनेछ । फाइनल खेल भने २७ फेब्रुअरीमा हुनेछ ।