काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने ७७४ जना सवारीचालक कारबाहीमा परेका छन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नियमित चेकजाँच तथा निगरानीका क्रममा उनीहरूलाई कारबाही गरिएको हो।
कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी चलाउने ६१ जना, तीव्र गतिमा सवारी चलाउने १२६ जना, सिसिटिभी फुटेजका आधारमा पहिचान भएका ३५ जना र ट्राफिक बत्ती उल्लङ्घन गर्ने २० जना रहेका छन्।
त्यस्तै, निषेधित क्षेत्रमा हर्न बजाउने १८ जना, सवारीसाधनको अवस्था ठीक नभएका २२ जना र एकतर्फी सडकको नियम उल्लङ्घन गर्ने दुई जना पनि कारबाहीमा परेका छन्। अन्य विभिन्न नियम उल्लङ्घन गर्ने ४९० जना कारबाहीमा परेको प्रहरीले जनाएको छ।
ट्राफिक प्रहरीले सडक अनुशासन कायम राख्न निगरानी र चेकजाँचलाई निरन्तरता दिएको छ। साथै, तीव्र गति र मादक पदार्थ सेवन गरी सवारी नचलाउन तथा ट्राफिक नियम पूर्ण रूपमा पालना गर्न चालकहरूलाई आग्रह गरेको छ।