कार्तिक शुक्ल पूर्णिमा अर्थात् नहान पर्वका अवसरमा मंगलबार कपिलवस्तुका विभिन्न १९ स्थानमा धार्मिक मेला लागेको छ। मेलामा जिल्लासहित छिमेकी जिल्ला र भारतबाट समेत ठूलो सङ्ख्यामा श्रद्धालु भक्तजन सहभागी भएका छन्।
बाणगंगा नदीको रामघाट, लक्ष्मणघाट, मनोहरापुर, बर्गदीघाट, कजरहवा लगायतका स्थानमा परम्परागत मेला लागेको हो। विशेषगरी कपिलवस्तु नगरपालिका–३ स्थित रामघाटमा भक्तजनको उल्लेख्य भीड देखिएको छ। त्यहाँ १० हजारभन्दा बढीले नदीमा स्नान गरेको रामघाट मेला व्यवस्थापन समितिले जनाएको छ।
जिल्लाकै पुरानो मेलाका रूपमा परिचित रामघाटमा भक्तजनहरू सोमबार रातिदेखि नै भेला भएका थिए। उनीहरूले रातभर जाग्राम बसेर भजनकीर्तन तथा पूजापाठ गरी बिहान नदीमा स्नान गरेका थिए। त्यसपछि रामजानकी मन्दिरमा पूजा आराधना, गौपूजा र दान गरेका थिए।
कार्तिक पूर्णिमाका दिन बाणगंगा नदीमा स्नान तथा दान गर्नाले पुण्य प्राप्त हुने धार्मिक विश्वास छ। त्रेतायुगमा भगवान् रामले बाण हानेर पानी निकालेको स्थान भएकाले यस नदीको नाम बाणगंगा रहेको स्थानीय जनविश्वास छ।
मेलामा भारतको शोहरतगढ, तुलसीपुर, अलीगढवा तथा नेपालका दाङ, रुपन्देही र अर्घाखाँची लगायतका क्षेत्रबाट श्रद्धालु आएका छन्।
कपिलवस्तु नगरपालिका प्रमुख सुदीप पौडेलले रामघाट मेलालाई व्यवस्थित र आकर्षक बनाउन प्रयास भइरहेको बताएका छन्। मेलालाई लक्षित गरी जिल्लाका १० मध्ये सात पालिकाले स्थानीय बिदासमेत दिएका छन्।
मेलामा हुन सक्ने सम्भावित घटनालाई रोक्न ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ।