काठमाडौँ । धादिङ, गंगाजमुना गाउँपालिका–६ की पार्वती कार्कीले २०७२ को विनाशकारी भूकम्पमा आफ्ना एक महिनाका छोरा र नयाँ बनाउँदै गरेको घर गुमाएकी थिइन् ।
त्यसपछिको आर्थिक कठिनाइमा ऋण गरेर उनले श्रीमान्लाई वैदेशिक रोजगारीका लागि पठाइन् ।
अहिले उनका श्रीमान् बहराइनमा छन् भने अर्का छोरा काठमाडौँमा प्लस टु अध्ययनरत छन् ।
महिला स्वास्थ्य स्वयंसेविकासमेत रहेकी कार्कीले यसबीचमा आर्थिक कठिनाइबाट उन्मुक्त हुन अथक प्रयास गर्दै आएकी थिइन् ।
गत असार १ देखि ३२ गतेसम्म सञ्चालन भएको एनसेलको ‘सधैँ अन करोडपति’ योजनामा भाग लिएकी पार्वती अन्ततः भाग्यमानी सावित भइन् ।
असारको तेस्रो साता ९९ रुपियाँको ‘बेसिक रिन्युअल’ प्याक किनेर योजनामा सहभागी भएकी उनले एनसेलको ‘सधैँ अन करोडपति’ योजनामा एक करोड रुपैयाँको बम्पर नगद पुरस्कार जितेकी छन् ।
शुक्रबार एनसेलको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा कम्पनीका चिफ फाइनान्सियल अफिसर इनामुल कबिरले उनलाई बम्पर पुरस्कार हस्तान्तरण गरेका थिए ।
पुरस्कार ग्रहण गर्दै कार्कीले आफूले जीवनमा कहिल्यै नसोचेको रकम जितेको र यसले आफू र परिवारको भविष्य उज्यालो बनाउने विश्वास व्यक्त गरिन् ।
उनले प्राप्त रकम श्रीमान्को बाँकी ऋण तिर्न, स्वास्थ्य उपचार गर्न, नेपालमै सानोतिनो उद्यम सुरु गर्न र छोराको शिक्षामा लगानी गर्ने योजना सुनाए ।
एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन अनुसार १२ हप्ताका लागि सञ्चालनमा ल्याएको योजनालाई साउन १ गते बन्द गरेको थियो ।
योजनाअन्तर्गत कार्कीले बम्पर पुरस्कार जितेकी हुन् भने अन्य ५० जना भाग्यशाली ग्राहकले साप्ताहिक रूपमा जनही एक लाख रुपियाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।
एनसेलले हालसम्म ३६ जनालाई पुरस्कार हस्तान्तरण गरिसकेको र बाँकी १५ जनालाई प्रमाणीकरणपछि पुरस्कार प्रदान गरिने जनाएको छ ।