फाइल तस्बिर विराटनगर । सुनसरीको रामधुनी नगरपालिका-७ बासबिटीमा शनिबार साँझ दुई मोटरसाइकल एक-आपसमा ठोक्किँदा बालकसहित तीन जनाको मृत्यु भएको छ ।
साँझ ७:२० बजेतिर भएको उक्त दुर्घटनामा अरू दुई जना घाइते भएका छन् ।
चतरा-कान्छीचोक सडकखण्डमा कान्छिचोकबाट कालाबन्जारतर्फ जाँदै गरेको को३३प ९६०५ नम्बरको मोटरसाइकल र कालाबन्जारबाट कान्छिचोकतर्फ आउँदै गरेको प्र१-०२-०५६प ५८६४ नम्बरको मोटरसाइकल एक-आपसमा ठक्कर खाएका थिए ।
दुर्घटनामा घाइते सबैलाई उपचारको लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो ।
जसमा प्र१-०२-०५६प ५८६४ नम्बरको मोटरसाइकल चालक रामधुनि-६ बस्ने ३४ वर्षीय इनर्चन चौधरीको
बेलुका ९:२० बजेतिर मृत्यु भएको थियो ।
सोही मोटरसाइकलमा पछाडि सवार उनको श्रीमती ३२ वर्षीया प्रतिक्षा चौधरी भने गम्भीर घाइते भएकी छन् भने उनीहरूका छोरा ९ वर्षीया प्रनिश चौधरीको बेलुका ९:२० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, को३३प ९६०५ नम्बरको मोटरसाइकल चालक इनरुवा-६ बस्ने अन्दाजी ५० वर्षकी बिन्दु यादवको बेलुकी ९:२० बजेतिर नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही मोटरसाइकलमा पछाडि सवार इनरुवा-७ बस्ने अन्दाजी ३६ वर्षीय रमेश चौधरी गम्भीर घाइते भएका छन् ।