विराटनगर । कुनै बेला रिक्साको सहरका रूपमा परिचित विराटनगरमा अहिले रिक्साबिहीन जस्तै छ । सिटी सफारीले विस्थापित गरेपछि विराटनगरमा रिक्सा चलाउनेहरूको संख्या औंलामा गन्न सकिने भएको छ ।
सिटी रिक्साले विराटनगर भरिँदै गर्दा नेपाल अग्रवालसभा, विराटनगरले भने विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालालाई रिक्सा उपहारमा दिएको छ ।
विराटनगरको सरसफाइमा प्रयोग गर्नका लागि आइतबार मेयर कोइरालालाई दुई थान रिक्सा प्रदान गरिएको हो ।
नेपाल अग्रवालसभाले सामाजिक उत्तरदायित्वअन्तर्गत महानगरलाई दुई थान रिक्सा उपलब्ध गराएको हो ।
सभाका अध्यक्ष राजकुमार अग्रवालले उपलब्ध गराएको रिक्सा मेयरले ग्रहण गरेका छन् ।
अग्रवालले उपमेयर शिल्पा निराला कार्की, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल, महानगरको वन, वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक वासुबहादुर बस्नेत, वडा नम्बर १ का अध्यक्ष काजीबहादुर बस्नेत, वडा नम्बर ८ का अध्यक्ष राम पोखरेललगायतको उपस्थितिमा मेयर कोइरालालाई रिक्सा हस्तान्तरण गरेका थिए ।
सो रिक्सा महानगरको सरसफाईमा प्रयोग गरिने सरसफाई शाखाका प्रमुख पुनम दाहालले जानकारी दिए ।
बजार क्षेत्रमा सो रिक्सा सरसफाई मोबाइल एम्बुलेन्सका रुपमा दिनभरि परिचालन गरिनेछ ।
जहाँ फोहोर हुन्छ त्यसलाई तत्कालै उठाएर व्यवस्थापन गरिनेछ । त्यस्तै सो रिक्सामा सचेतनामूलक सूचना रेकर्ड गरेर बजाउने गरी बनाइएको छ ।