विराटनगर । बाल गायक सचिन परियारको निमोनियाका कारण निधन भएको छ । महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचाररत परियारको बिहीबार बिहान करिब १०ः४९ बजे निधन भएको हो ।
सचिनको सिभियर निमोनियाले पल्मोनरी ह्यामरेज भएका कारण निधन भएको हो । सचिन पुस १३ गते उच्च ज्वरो र श्वास फेर्न गाह्रो भएका कारण अस्पतालमा भर्ना भएका थिए ।
अस्पतालमा भर्ना भएपछि उनलाई निमोनिया देखिनुका साथै धेरै अंगले काम गर्न छोड्दै गएपछि १५ वर्षीय सचिनको केही दिनदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । सचिन पाँच वर्षदेखि अस्पतालमा उपचाररत थिए ।
अबोध बालक सचिनलाई सोसल मिडियामा ‘भाइरल’ बनाइयो र सुविस्ताले बाँच्नसमेत दिइएन ।
न उनलाई लेखपढ गर्न दिइयो, न स्वच्छन्द बाल्यकाल बिताउन । कहिले गाउँमा पुर्याउने, कहिले सहरमा ल्याउने ।
कहिले गीत गाउन लगाउने, कहिले नाच्न । कहिले रुवाउन लगाउने, कहिले हँसाउन । उनी के चाहन्थे ? कस्तो जीवन बाँच्न चाहन्थे ? कसलै सोधीखोजी गरेनन् ।
बरु कुनैबखत सर्कसमा प्रयोग गरिने प्राणीलाई झैं मान्छेहरूले यी बालकलाई आफ्नो स्वार्थ र सुविधा अनुसार दोहन गर्न थाले । यस्तै धपेडीबीच उनी रोगी भए ।
उनको रोगी शरीरलाई कहिले दोहोरीमा पुर्याइयो, कहिले झाँक्रीकहाँ । त्यसलाई भिडियो बनाएर सोसल मिडियामा व्यापक बनाइयो ।
उनी नाचेको, हाँसेको मात्र होइन, बिरामी भएको, बाटोमा मागेर हिंडेको विषयलाई पनि ‘बिकाउ सामग्री’ बनाइयो ।
केही समयअघि उनी काठमाडौं बानियाँटारस्थित महादेव खोलानजिक खानेकुरा माग्दै हिंडेको भेटिए ।
स्थानीयले उनका बुवा तेजेन्द्रलाई जिम्मा लगाउन खोजे तर उनी सम्पर्कमा आएनन् । त्यसबेला उनले बुवासँग बस्न डर लाग्ने बताएका थिए ।
उनका बुवा स्वयंले सचिनमाथि व्यापक श्रम शोषण गरेको आरोप लाग्दै आएको छ । सचिनलाई भजाएर उनले पैसा उठाउने र रात्रिक्लब र दोहोरीमा गएर पैसा खर्च गरेको आरोप छ ।
कहिले छोरालाई एकक्षण आराम पनि गर्न नदिई महोत्सवहरूमा डुलाउने त कहिले बिरामी भएको भन्दै चन्दा उठाउने गरेको कतिपयको भनाइ छ ।
त्यसो त कति भिडियोमा उनले सचिनलाई दुव्र्यवहार गरेकोदेखि अनेक तमासा गर्दै हिंडेको देख्न सकिन्छ ।
सचिन सानै छँदा उनकी आमाले छाडेर गएको बताइन्छ । बुवा तेजेन्द्रले अर्की आमा ल्याए ।
यसरी बुवाआमा भएर पनि सचिन अनि उनकी एक बहिनी अनाथ जस्तै भए । हर्मोनल असन्तुलन र स्नायुको समस्याले गर्दा उनको शारीरिक विकास सही ढंगले भएको थिएन ।
यस्तै स्थितिमा गुल्मी सदरमुकाम तम्घासको कुनै बाटोमा उनी आफ्नै सुरमा खेल्दै हिंडिरहेका भेटिएका थिए । त्यही बेला कसैले उनको भिडियो खिचेर सोसल मिडियामा राखेपछि उनी ‘भाइरल’ बने ।
भाइरल बन्नुको पछाडि उनको खास कुनै प्रतिभाले भन्दा पनि बोल्ने शैली र लवजलाई ‘मनोन्जनको खुराक’ बनाइए ।
उनलाई आवश्यक मार्गदर्शन दिने, सम्मान गर्ने होइन बरु हाँसोको पात्र बनाउने काम बढी भयो ।
सोसल मिडियामा उनको भिडियो हेर्ने जमात जसरी बढ्दै गयो, त्यसरी नै सचिनको धपेडी पनि । उनलाई बोल्न, गाउन, नाच्न लगाएर धमाधम भिडियो खिच्ने होड चल्यो ।
यस्तो होड, जसले उनलाई आफ्नै ढंगले बाँच्न दिएन । अन्ततः आफैंलाई चिन्न नपाई उनको निधन भयो ।
सचिनमाथि अहिलेसम्म जे जति भयो, त्यो उनको अबोधपनमाथिको खेलबाड थियो । गरिब हुनु, त्यसमाथि दलित पनि ।
दर्बिलो अभिभावकत्व नमिल्नु, त्यसमाथि कमजोर पनि । यावत् कुराको एकमुष्ट बोझ उनले भुक्तान गर्नुपर्यो ।
सचिनले म्युजिक भिडियो र हास्य शृङ्खला ‘मेरी बास्सै’मा पनि अभिनय गरेका थिए । ‘रातो रबर एक’, ‘रुमाल खस्छ कि’, ‘के छ र हजुर’, ‘बरको छाँयाले’लगायत उनले गाएका प्रमुख गीत हुन् ।