काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले फार्म समर्थन बिक्री मूल्य बढाएसँगै बजारमा अन्डाको मूल्य फेरि बढेको छ। संघले शुक्रबारदेखि लागू हुने गरी सबै प्रकारका अन्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँले वृद्धि गरेको हो।
नयाँ मूल्यअनुसार एक्सएल आकारको अन्डाको फार्म मूल्य प्रतिक्रेट ५९० रुपैयाँबाट बढेर ६०५ रुपैयाँ पुगेको छ। त्यस्तै ठूलो अन्डाको मूल्य ५७५ बाट ५९० रुपैयाँ र मिडियम अन्डाको मूल्य ५३५ बाट ५५० रुपैयाँ कायम गरिएको छ।
सानो अन्डाको मूल्य भने प्रतिपेटी ३ हजार २ सय रुपैयाँ नै यथावत राखिएको छ। संघले तोकेको मूल्य फार्म समर्थन मूल्य भएकाले उपभोक्ताले बजारमा खरिद गर्दा भने थप मूल्य तिर्नुपर्ने हुन्छ।
संघका अनुसार पछिल्लो समय कुखुराको दाना, औषधि तथा ढुवानीलगायत उत्पादन लागत बढेकाले किसानलाई राहत दिन मूल्य समायोजन गरिएको हो। साथै बजारको माग र आपूर्तिबीच सन्तुलन कायम गर्न पनि मूल्य समायोजन आवश्यक परेको संघको दाबी छ।
संघका सचिव मदन पोखरेलका अनुसार चितवनलाई मुख्य आधार बनाएर तोकिएको यो मूल्य देशभर लागू हुनेछ। पछिल्लो समय अन्डाको मूल्य लगातार बढिरहेको अवस्थामा नयाँ मूल्यले उपभोक्तालाई थप भार पर्ने देखिएको छ।