विराटनगर । पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले कोशी नामकरणको विरोधस्वरूप शनिबार (आज) विराटनगरमा प्रदर्शन गर्दै छ ।
राष्ट्रिय मुक्ति क्रान्ति पूर्वी कमान्डको आयोजनामा आज मध्याह्न १२ बजेदेखि विराटनगरमा विरोध प्रदर्शन हुने भएको हो ।
शुक्रबार साँझ विराटनगरस्थित संगम पार्टी प्यालेसमा पत्रकार सम्मेलनको आयोजना गरी नामकरणको मुद्दालाई लिएर विराटनगरका विभिन्न स्थानमा प्रदर्शन हुने जानकारी गराइएको छ । प्रदर्शनपछि महेन्द्र चोकमा कोणसभा हुने कोणसभालाई राष्ट्रिय मुक्ति क्रान्तिका अध्यक्ष महतोले जानकारी दिए ।
‘यो प्रदेशको नाम कोशी राखिएपछि भइरहेको आन्दोलनलाई ऐक्यबद्धता जनाउँदै हामीले विराटनगरमा प्रदर्शन गर्न आँटेका हौं,’ महतोले भने, ‘प्रदेश नामकरणले मात्र समस्याको समाधान हुँदैन । प्रदेशको पुनः संरचना हुनुपर्छ भन्ने एजेन्डासहित राष्ट्रिय मुक्ति क्रान्ति अगाडि बढेको छ ।’
२०७९ फागुन १७ गते प्रदेशसभाले तत्कालीन प्रदेश नम्बर १ को नाम ‘कोशी’ पारित गरेको थियो । त्यसयता पहिचान पक्षधरले गरिरहेको आन्दोलनका क्रममा एक जनाको निधन भएको थियो ।
त्यसपछि बनेको सरकार र पहिचान पक्षधरका प्रतिनिधि सम्मिलित वार्ता समिति हालसम्म निष्कर्षविहीन छ ।
नामकरणकै विषयमा केन्द्रित भई आफूहरूले प्रदर्शन गर्ने बताउँदै राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक महतोले भने, ‘वास्तवमा यो प्रदेशको नाम नै गलत भएको भन्ने हाम्रो ठम्याई छ । पहिचानका आधारमा नामकरण हुनुपर्थ्यो, त्यसो नगरेर जबर्जस्ती अरू नै नाम राखियो । जुन, पहिचानवादीलाई कुनै पनि हालतमा मान्य हुँदैन । कोशीले पहिचान मागेको थिएन, बरु पहिचानका आधारमा नाम राख्नुपर्ने यहाँका जनताको माग थियो ।’
कार्यक्रममा राष्ट्रिय मुक्ति क्रान्तिका नेता बुद्धछिरिङ मोक्तानलगायतको उपस्थिति रहेको थियो ।