काठमाडौं । सोलुखुम्बुमा दुईवटा हेलिकोप्टर ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङले दुर्घटनामा एक विदेशी नागरिकको मृत्यु भएको र एक जना घाइते भएको जानकारी दिएका छन्।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार फिस्टेल र डायनेस्टी एयरका हेलिकोप्टर फेरिचे हेलिप्याडमा अवतरण गर्ने क्रममा ठोक्किएर दुर्घटना भएका हुन्।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले अवतरणका क्रममा दुई हेलिकोप्टरका पंखा आपसमा ठोक्किएको प्रारम्भिक जानकारी आएको बताएका छन्। घटनाबारे थप विवरण संकलन गर्ने प्रयास भइरहेको उनले जानकारी दिएका छन्।