आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन। हिन्दू धर्मावलम्बीहरूले आजको दिनलाइ अत्यन्त विशेष रुपमा लिन्छन्।दुःखकष्ट खेपेर ९ महिनासम्म कोखमा राख्ने, जन्मिसकेपछि अमृततुल्य दूध र वात्सल्य दिएर हुर्काउने आमाको सम्मानमा यो पर्व मनाइन्छ।प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन मनाइने यो पर्वमा बिहान सबेरै उठी स्नान गरी आमालाई मिष्ठान्न भोजन खुवाउने, उपहार दिने र आशीर्वाद लिने परम्परा रहिआएको छ।
आमाबाट टाढा रहेका सन्तानहरू यस दिन आमालाई भेट्न पुग्ने गर्छन्। माता तीर्थ औँसीलाई देवलोक, पितृलोक र पृथ्वीलोक जोड्ने सेतुका रूपमा समेत लिइन्छ। साथै, औँसीको दिनको चर्को घाममा बिस्कुन सुकाए अन्नमा किरा नलाग्ने विश्वास पनि छ।सन्तानलाई नौ महीनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले आमाको महत्व अरुभन्दा बढी छ। बाबुभन्दा आमाको महत्व हजार गुणा बढी हुने भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको सनातन धर्मग्रन्थमा उल्लेख गरिएको “जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी” भन्ने वाक्यले आमा र जन्मभूमिको महत्व दर्शाउँछ। संसारकै सबैभन्दा पवित्र नाता आमा हो, र ‘आमा’ शब्द आफैंमा गहिरो सम्मान र माया बोकेको छ।
प्रविधिको विकाससँगै मानिसहरूले सामाजिक सञ्जालमार्फत पनि आमाप्रति आफ्ना भावना र सम्झनाहरू व्यक्त गर्ने गरेका छन्।आमा नभएकाहरू भने यस दिन मातातीर्थ पुग्ने गर्छन्। त्यहाँ रहेको कुण्डमा स्नान गरी दिवंगत आमाको मुक्तिको कामना गर्दै तर्पण दिने परम्परा छ। मातातीर्थको इतिहास धार्मिक विश्वास र लोककथासँग जोडिएको पाइन्छ। किंवदन्तीअनुसार प्राचीन समयमा एक गोठालो युवकले आफ्नी आमाको निधनपछि गहिरो शोकमा डुबेर यस स्थानमा आइपुगेका थिए। उनले त्यहाँ रहेको पवित्र कुण्डमा हेर्दा आफ्नी आमाको अनुहार देखेको अनुभव गरे। यस घटनापछि उक्त स्थानलाई आमाको स्मरण र दर्शनसँग जोडिएको पवित्र तीर्थका रूपमा मान्न थालियो। पछि यहाँ कुण्ड, मन्दिर र धार्मिक संरचनाहरू निर्माण गरिए, जसले यस स्थानलाई झन् महत्वपूर्ण बनायो। समयसँगै मातातीर्थ औँसीका दिन यहाँ ठूलो मेला लाग्न थाल्यो र आमाको सम्झनामा तर्पण दिने परम्परा स्थापित भयो।यसरी, मातातीर्थ केवल धार्मिक आस्था मात्र नभई आमाप्रतिको माया, सम्मान र स्मृतिको प्रतीक बनेको छ।