विराटनगर । सडक दुर्घटनामा परी मृत्यु भएका पुष्पकुमार चौधरी (पुष्पे थारू) को स्मृतिमा विराटनगरमा अन्तर कलेज वक्तृत्वकला प्रतियोगिता हुने भएको छ ।
लियो क्लब अफ विराटनगर योङ हर्टको आयोजनामा यही भदौ १३ गते हुने प्रतियोगितामा १६ वटा शैक्षिक संस्थाहरूको सहभागिता रहने छ ।
महँगी, बेरोजगारी र युवाको भविष्य शीर्षकमा हुन लागेको प्रतियोगितामा आदर्श सेकेन्डरी स्कुल, सत्यनारायण सेकेन्डरी स्कुल, शिक्षादीप बोर्डिङ सेकेन्डरी स्कुल, एभरेस्ट सेकेन्डरी स्कुल, मेरिल्यान्ड कलेज, कान्तिपुर कलेज, ग्रिनल्यान्ड इन्टरनेसनल सेकेन्डरी स्कुल, सिद्धार्थ कलेज, अर्किड कलेज, सुष्मा गोदावारी कलेज, इटहरी नमुना कलेज, बिएसएन स्कुल अफ होटल म्यानजमेन्ट, सुकुना बहुमुखी क्याम्पस र सगरमाथा सेकेन्डरी बोर्डिङ स्कुलले सहभागिता जनाउने छन् ।
लियो क्लब अफ विराटनगर योङ हर्टका पूर्वअध्यक्षसमेत रहेका थारूले यस संस्थाप्रति दिएको योगदानको उच्च सम्मान गर्दै प्रतियोगता गर्न लागेको कार्यसमिति अध्यक्ष कुशल कोइरालाले जानकारी दिए ।
‘यो एउटा सामाजिक कार्यमा अग्रसर रहने संस्था हो,’ उनले भने, ‘यसले गाउँ समाज र राष्ट्रको आवश्यकतालाई मध्यनजर गर्दै उक्त आवश्यकता परिपूर्ति गर्ने कार्य अगाडि बढाउने गर्द छ । यस संस्थाका पूर्वअध्यक्ष पुष्पेको यही भाद्र ४ गते साँझ सडक दुर्घटनामा परी असामयिक निधन भएको छ । उक्त घटनाले सम्पूर्ण लियो परिवार शोकमा परेको छ ।’
उनका अनुसार प्रतियोगिताका विजेताले १० हजार, मेडल-ट्रफी र प्रमाणपत्र तथा १ वर्षको लाइफ इन्स्योरेन्स र ३ महिनाको जिम सब्सक्रिप्सन फ्रि अनि तीन/चार क्याफेबाट फुड कुपनको व्यवस्था रहेको छ ।
यसैगरी दोस्रो हुनेलाई नगद रु ५ हजार, मेडल,ट्रफी, प्रमाणपत्र, फुड कुपन तथा तीन हजार, ट्रफी, मेडल, प्रमाणपत्र, फुड कुपन अनि चौथोलाई १५०० नगद, प्रमाणपत्र प्रदान गरिने छ ।
यसैगरी सहभागी सबैलाई प्रमाणपत्र वितरण गरिने छ । प्रतियोगिताको मुख्य प्रायोजकमा जिनियस ग्रभ इन्टरनेसनल इजुकेसन प्रा.लि. रहेको छ ।