विराटनगर । विराटनगरमा भएको सवारी दुर्घटनामा परेर थारू कला केन्द्रका सचिव पुष्प कुमार चौधरी “पुष्पे थारू” को बुधबार बेलुका निधन भएको छ ।
विराटनगर महानगरपालिका- ४ दुधफारम स्थित कोशी राजमार्गमा बुधबार बेलुका ८:२० बजे भएको दुर्घटनामा उनको निधन भएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी सहायक निरीक्षक रमेश भट्टराईको कमाण्डमा खटिएको चेकिङ टोलीले ट्राफिकसहित संयुक्त रूपमा चेक जाँच गर्ने क्रममा विराटनगरबाट नेमुवातर्फ जाँदै गरेको प्रदेश १-०२-००१ क ५१८९ नम्बरको मिनी ट्र्कलाई रोकी चेक जाँच गर्ने क्रममा दुर्घटना भएको थियोे ।
सोही दिशाबाट आउँदै गरेको प्रदेश १-०२-००४६ प ६४०१ नमबरको मोटरसाइकल ट्रकमा ठोक्किएको प्रहरीले जनाएको छ ।
तीव्र गतिमा आएको मोटरसाइकल अनियन्त्रित भई उक्त मिनी ट्र्कको पछाडि ठक्कर दिई दुर्घटना हुँदा मोसा चालक बर्जु गाउँपालिका-६ बस्ने २८ वर्षीय पुष्पकुमार चौधरी घाइते भएका थिए ।
उनलाई उपचारको लागि नोबेल अस्पताल विराटनगरमा लगिएकोमा उपचारको क्रममा डाक्टरले चेक जाँच गर्दा ८:४५ बजेतिर मृत्त घोषणा गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले मिनी ट्रक र ट्रक चालक बुढिगंगगा गाउँपालिका १ बस्ने ३१ वर्षीय सन्तोषकुमार आचार्यलाई नियन्त्रणमा लिएको छ ।
मोटरसाइकल तीव्र गतिमा कुदाउँदा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले औंल्याएको छ ।