विराटनगर । स्पेनिस क्लब बार्सिलोनालाई सन् २०१५ मा पाँचवटा उपाधि दिलाएका प्रशिक्षक लुइस इनरिकले १० वर्षपछि अर्को सफलता हात पारेका छन् । स्पेनका प्रशिक्षक इनरिकले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई यस वर्ष पाँचौं उपाधि दिलाएका हुन् ।
पिएसजीले बुधबार राति भएको फाइनल खेलको अन्तिम क्षणमा नाटकीय कम्ब्याक गर्दै इंग्लिस क्लब टोटनह्याम हटस्परमाथि पेनाल्टीमा ४–३ गोलान्तरको जित निकालेर युइएफए सुपर कपको उपाधि जित्यो । इटालीको ब्लु इनर्जी स्टेडियममा निर्धारित ९० मिनेटको खेल २–२ को बराबरीमा सकिएपछि सीधै टाइब्रेकरमा धकेलिएको खेलमा पिएसजीले टाइब्रेकरमा बाजी मार्यो ।
खेलको ८५औं मिनेटसम्म टोटनह्याम २–० ले अघि थियो । तर, ८६औं मिनेटमा ली काङ–इनले कुनामा प्रहार गर्दै गोल अन्तर घटाए । इन्जुरी समयको चौथो मिनेटमा गोन्सालो रामोसले बराबरी गोल गर्दै खेललाई २–२ मा पुर्याए ।
पेनाल्टी सुटआउटमा सुरुमा भिटिन्हाले मिस गरेपछि टोटनह्याम २–० ले अघि थियो । तर, मिकी भान डे भेन र माथिस टेलले अवसर गुमाए र पीएसजीले लगातार चार पेनाल्टीमा सफल पा¥यो । अन्तिम निर्णायक प्रहार नुनो मेन्डेसले गर्दै टोलीलाई जित दिलाए ।
लिल्लबाट भर्खरै आएका गोलकिपर लुकास चेभालिएरले गियानलुइजी डोनारुम्माको स्थान लिँदै पहिलो रोजाइको खेल खेलेका थिए । ३९औं मिनेटमा जोआओ पाल्हिन्हाको प्रहार बारमा छोएर फर्किँदा भान डे भेनले छिटो प्रतिक्रिया दिँदै गोल गरे । ४८औं मिनेटमा टोटनह्याम कप्तान क्रिस्टियन रोमेरोको हेडर रोक्न नसक्दा दोस्रो गोल खाए । तर, सुटआउटमा भान डे भेनको पेनाल्टी बचाउँदै उनले डोनारुम्मा स्तरको प्रदर्शन देखाए ।
सुपर कप च्याम्पियन्स लिग र युरोपा लिगका विजेताबीचको हुने वार्षिक प्रतियोगिता हो । पिएसजी गत सिजनको च्याम्पियन्स लिग विजेता हो भने टोटनहाम युरोपा लिग विजेता हो । यससँगै पिएसजीले एकै सिजनन पाँच वटा ट्रफी भित्र्याएको छ ।
इनरिक नेतृत्वको पिएसजीले यसअघि फ्रेन्च लिग वान, च्याम्पियन्स लिग, फ्रेन्च कप, फ्रेन्च सुपर कप जितेको थियो । इनरिकले सन् २०१५ मा ला लिगा, कोपा डेल रे, च्याम्पियन्स लिग, सुपर कप र क्लब वर्ल्ड कप जिताएर सनसनी मच्चाएका थिए ।
स्पेनका महारथी क्लबद्वय रियल मड्रिड र बार्सिलोनाबाट व्यवसायिक फुटबल खेलिसकेका ५५ वर्षीय प्रशिक्षक दुई सिजनअघि मात्र फ्रान्सको राजधानी पेरिस आएका हुन् । त्यसअघि उनले स्पेनको राष्ट्रिय टोली सम्हालेका थिए ।