विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा आगामी भदौ १ गते निकालिने रथयात्राको तयारी तीव्र पारिएको छ ।
श्रीराधाकृष्ण रथयात्रा समारोह समितिले दक्षिण एसियाकै दोस्रो ठुलो रथयात्राका रूपमा स्थापित रथयात्राको तयारी तीव्र बनाएको हो ।
भदौ यसपटकको रथको बनावट र स्वरूप फरक देखिने भएको छ । यसपटकदेखि रथलाई आकर्षक ढंगले निर्माण गरी विगतको भन्दा फरक बनाइएको छ ।
भारत र नेपालका कारीगरहरूले रथलाई अन्तिम रूप दिने काम गरिरहेका छन् । नयाँ रथको उचाई यसपटक २१ फिट ३ ईन्च, चौडाई १४ फिट, लम्बाई १९ फिट र जुवाको भाग ८ फिट रहने बताइएको छ ।
रथको अग्रभाग जुवाबाट १६५ फिट लम्बाईको डोरी दायाँ र १६५ फिट लम्वाईको डोरी बायाँपट्टि फैलिएको छ । जसलाई दायाँपट्टिको लठ्ठामा पुरुष भक्तजन र बायाँपट्टिको लठ्ठामा महिला भक्तजनहरूले लठ्ठा तानेर रथयात्रा सञ्चालन गरिने छ ।
कृष्णा जन्माष्टमीको भोलिपल्ट विराटनगरमा राधाकृष्ण सवार रथ यात्रा गर्ने चलन रहेको छ ।
भारतको उडिसाको जगन्नाथपुरीमा राधाकृष्णको रथ यात्रा एसिया पहिलो ठुलाे र विराटनगरको दोस्रो ठुलो रथ यात्राको रूपमा मानिएको छ ।
विराटनगर –१ राधाकृष्ण मन्दिरबाट निस्कने रथ यात्राले महानगरको करिब ९ किलोमिटर दुरीको यात्रा तय गर्ने छ ।
विराटनगरको रथ यात्रामा छिमेकी देश भारतको विहार, पश्चिमबंगाल, कोशी प्रदेशका विभिन्न जिल्लाका साथै मधेस प्रदेशबाट भक्तजनहरू सहभागी हुने गरेका छन् ।
विक्रमसम्बत २०८८ सालदेखि सुरु भएको श्रीराधाकृष्ण खट्यात्रा २०२५ सालबाट रथयात्रामा रूपान्तरण गरिएको थियो । खट्यात्रा सुरुआतबाट गणना गर्दा यसपटकको रथयात्राको ९४ औं महोत्सव हो ।


