विराटनगर । विराटनगर-९ स्थित ग्रिनल्यान्ड कलेजले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई स्वागत गर्दै अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ ।
उत्कृष्ट शैक्षिक संस्थाका रूपमा सम्मानित बनेको कलेजले मंगलबार विराटनगरमा आयोजित कार्यक्रममा ग्रिनल्यान्डमा भर्ना भएका ७५१ जना विद्यार्थीहरूलाई स्वागत तथा अभिमुखीकरण दिएको हो ।
कार्यक्रममा बोल्दै कलेजका प्रिन्सिपल दिनेश कुमार दाहालले ग्रिनल्याण्ड कलेजले गुणस्तरीय शिक्षाको माध्यमबाट विद्यार्थीको भविष्य उज्ज्वल बनाउने लक्ष्यसहित अघि बढिरहेको बताए ।
‘हामी केवल किताबी ज्ञानमै सीमित छैनौं,’ उनले भने, ‘विद्यार्थीलाई नैतिक मूल्य, व्यवहारिक सीप र रोजगारसँग जोडिने शिक्षा दिन हामी प्रतिबद्ध छौं ।’ प्रिन्सिपल दाहालका अनुसार शिक्षासँगै शिष्टाचार, अनुशासन र व्यावसायिक क्षमताको समन्वय गर्ने वातावरण कलेजले निर्माण गर्दै आएको छ ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला शिक्षा समन्वय इकाइ, मोरङका प्रमुख जीवन गड्तौलाले नयाँ पुस्तालाई प्रविधिमैत्री र रोजगारमुखी बनाउने खालको शिक्षामा जोड दिनुपर्ने बताए । ‘समय बदलिँदै छ, अब केवल किताबको भरमा भविष्य बन्न सक्दैन,’ उनले भने, ‘विद्यार्थीलाई आत्मनिर्भर बनाउने शिक्षा प्रणालीको विकास गर्न जरुरी छ, र यस दिशामा ग्रिनल्याण्ड कलेजको प्रयास सराहनीय छ ।’
यसैगरी कलेजका अध्यक्ष रवीन्द्र घिमिरेले कार्यक्रममा सहभागी सबै विद्यार्थीलाई स्वागत गर्दै सफल शैक्षिक यात्राको शुभकामना व्यक्त गरे । ग्रिनल्यान्डले अनुसन्धानमुलक पठनपाठनमा जोड दिँदै गइरहेको उनले सुनाए ।
कार्यक्रममा विज्ञान संकायमा भर्ना भएका विद्यार्थी दिपरशान सुवेदीले ग्रिनल्याण्ड कलेजको शैक्षिक पूर्वाधार, अनुभवी शिक्षक र सफल नतिजाका कारण आफूले यहाँ अध्ययन रोजेको बताए । अर्की विद्यार्थी राधिका भट्टराईले कलेजले प्रदान गर्ने गुणस्तरीय शिक्षाबाट आफ्नो लक्ष्य प्राप्त गर्ने विश्वास व्यक्त गरिन् ।
अभिमुखिकरण कार्यक्रमलाई सांस्कृतिक प्रस्तुतिले अझ आकर्षक बनाएको थियो । विद्यार्थीहरूले विभिन्न नृत्य तथा गायन प्रस्तुत गर्दै आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए ।
कम्प्युटर विज्ञान, व्यवस्थापन संकाय र होटेल व्यवस्थापन संकाय गरी तीनवटै मुख्य संकायहरूमा ग्रिनल्यान्डले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ ।