विराटनगर । प्रतिनिधिसभा सदस्य डा. सुनील शर्माको अस्पताल नोबेल मेडिकल कलेजमा चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै पीडित परिवारले अदालतमा मुद्दा दायर गरेका छन् ।
चिकित्सकीय लापरबाहीका कारण दुई महिनाअघि एक बिरामीको मृत्यु भएको घटनाका पीडितले न्यायका लागि मोरङ जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन् ।
नोबेलमा फोक्सो एवम् श्वासप्रश्वाससम्बन्धी समस्या लिएर उपचारका लागि भर्ना भएका सुनसरी इनरुवाका ५६ वर्षीया बिमला थापा पोखरेलको गलत उपचार प्रक्रियाका कारण मृत्यु भएको थियो ।
उनको मृत्यु भएपछि दोषीबाट क्षतिपूर्ति भराउनु पर्ने माग गर्दै पीडित पक्ष अदालत पुगेको हो । मृतकका श्रीमान् महेश्वर पोखरेलले अदालतमा विपक्षीबाट क्षतिपूर्ति दिलाइ पूर्ण न्याय पाऊँ भनी बुधबार फिरादपत्र दर्ता गराएका छन् ।
फोक्सो तथा श्वासप्रश्वासको समस्या करिब ठिक भइसकेको बेला ढाडको दुःखाइ कम गर्न भन्दै फोक्सोको चिकित्सकले दिएको ‘मोर्फिन’ नामक औषधि सेवन गरेकै कारण बिरामीको मृत्यु भएको अदालतमा दायर गरिएको फिराद पत्रमा उल्लेख छ ।
श्वासप्रश्वासमा समस्या देखिएपछि गएको माघ १० गते बिमलालाई नोबेल मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो ।
मृतक बिमलाको फोक्सोमा दीर्घकालीन अवरोधसम्बन्धी रोग सिओपिडी र रक्तअल्पताको समस्या देखिएको भनि अस्पतालका फोक्सो एवम् श्वासप्रश्वास रोग विशेषज्ञ डा. रामहरि घिमिरे र डा. रुपक केसीले उपचार गरेका थिए ।
एक साताको उपचारपछि समस्या सुधार भई डा. घिमिरेले माघ १८ गते डिस्चार्ज गरी घर लैजान सुझाव दिएका थिए । डिस्चार्ज भएर घर फर्किन पाइने खुसीले बिरामी स्वयंले वार्डका अन्य बिरामीलाई फलफुल र जुस बाँडेको फिराद पत्रमा उल्लेख गरिएको छ ।
चिकित्सकले डिस्चार्ज गर्ने सल्लाह दिएपछि झण्डै २५ वर्ष पुरानो ढाड दुख्ने समस्याले दुःख दिइरहेको बिरामीले सुनाएका थिए ।
त्यसपछि डा. घिमिरेले उक्त समस्या ठिक गरिदिने भन्दै मोर्फिन नामक औषधि लेखिदिएका थिए । उक्त औषधि विराटनगरको कोशी अस्पतालमा रहेको साझा औषधि पसलबाट खरिद गरेर ल्याएको मृतक बिमलाका छोरा सुशान्तरमण पोखरेलले जानकारी दिए ।
१० मिलिग्राम दरको पाँच गोली उक्त औषधि त्यसै दिन सेवन गरेपछि श्वासप्रश्वासको लेभल घट्दै गएर आमाको ज्यान गएको सुशान्तरमणले बताए ।
यदि चिकित्सकले समयमै बिरामीको अवस्था अध्ययन गरेको भए त्यसविरुद्ध अर्को औषधि दिएर बचाउन सक्ने सम्भावना हुने भए पनि बिरामी गम्भीर भएको जानकारी गराउँदा गराउँदै बिरामीलाई हेर्नै नआएको र आइसियूमा राखेर थप केयर नगरेका कारण आमाको अकालमै मृत्यु हुनपुगेको उनको भनाइ छ ।
अस्पतालले दिएको ड्रग स्लिपमा उक्त औषधि चलाउन सिफारिस गरी चिकित्सकद्वय घिमिरे र केसीले हस्ताक्षर गरेको पाइएको छ ।
चिकित्सकले डिस्चार्ज गर्न सल्लाह दिएको दिन स्वास्थ्यमन्त्री प्रदीप पौडेलले उक्त अस्पतालको निरीक्षण भ्रमण गरेका कारण उनको डिस्चार्ज प्रक्रिया माघ १८ गते अघि बढेको थिएन ।
डा. घिमिरे फोक्सोसम्बन्धी विज्ञ डाक्टर भएकाले एलबिपीको उपचार गर्ने र औषधि दिने काम उनको क्षेत्रमा नपर्ने पीडित सुशान्तरमणले बताए ।
गलत औषधि दिई गम्भीर लापरबाही गरेका कारण आफ्नो आमाको मृत्यु भएको उनको आरोप छ । अस्पतालले उपलब्ध गराएको कागजातबाटै चिकित्सकीय लापरबाहीका कारण आमाको मृत्यु भएको भन्दै न्यायका लागि क्षतिपूर्ति दिनुपर्ने माग उनले गरेका छन् ।
सम्बन्धित विशेषज्ञ डाक्टरको निरीक्षणबिनै तीन पटक ५० एमजीका दरले १५० एमजी मोर्फिन औषधि सेवन गराइएको अस्पतालबाट जारी भएको औषधी सिफारिस पत्रबाट देखिन्छ ।
सामान्यत धेरै गम्भीर दुःखाइ कम गर्न बढीमा ५/१० एमजीभन्दा प्रयोग गर्न नहुने यो औषधी लापरबाहीपूर्ण ढंगले ५० एमजी सेवन गराइएको र त्यसैले बिरामीको ज्यान गएको पीडित परिवारको आरोप छ ।
गलत औषधी दिएको विषयमा पीडित पक्षले चिकित्सकहरूसँग बुझ्न खोजेका थिए । तर त्यसबेला चिकित्सकहरुले गैरजिम्मेवार जवाफ दिएको आरोप पनि उनीहरूले लगाएका छन् ।
मोरङ जिल्ला अदालतमा यस प्रकृतिको पहिलो मुद्दा दर्ता भएको हो । सुरुमा मुद्दा दर्ता गर्न आनाकानी गरेको अदालतले उपभोक्ता अधिकारको प्रयोग गर्दै धेरै सङ्घर्ष गरेर मात्र मुद्दा दर्ता गर्न सफल भएको उनले बताए ।
परिवारले संविधानको धारा ४२ (२), उपभोक्ता संरक्षण ऐनको दफा ३ को ५० र ५१ बमोजिम क्षतिपूर्ति मागेको छ । पाँच करोड रुपैयाँ क्षतिपूर्ति विपक्षीबाट असुलउपर हुनुपर्ने मागदाबी फिरादपत्रमा गरिएको छ ।
गलत उपचारका कारण बिरामीको मृत्यु भएको भन्ने आरोप र त्यस सन्दर्भमा अदालतमा दर्ता भएको मुद्दाको विषय सार्वजनिक भएपछि अस्पतालले त्यसलाई अध्ययन गरिरहेको नोबेल मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलका महाप्रबन्धक दिपेश राईले जानकारी दिए ।
गत माघ २१ गतेको घटना रहेको बताउँदै उनले त्यस दिन बिरामीको मृत्यु भएपछि परिवारका सदस्यहरूले सहज रूपमै अस्पतालबाट शव बुझेर लगेको देखिएको राईले बताए ।