विराटनगर । मोरङको कटहरी गाउँपालिका वडा नम्बर ५ को कार्यालय आफ्नै भवनमा सरेको छ ।
कटहरी-५ भौडाहस्थित नयाँ भवनको बुधबार उद्घाटन गरी वडा कार्यालय त्यहाँ सरेको हो ।
यसअघि भौडाहकै बाँतर सामुदायिक भवनमा रहेको वडा कार्यालय आजबाट भौडाह स्वास्थ्यचौकीकै परिसरमा बनाइएको भवनमा सरेको हो ।
एक तलाको चारकोठे भवन विराटनगर-१२ को बिलिभ इन्जिनियरिङ कन्ट्रक्सनले बनाएको हो ।
१ करोड २ लाख २१ हजार ४०३ अनुमानका निर्माण थालिएको भवन निर्माणमा ५९ लाख ६० हजार ५१७ खर्च भएको गाउँपालिका अध्यक्ष देवराज चौधरीले जानकारी दिए ।
ओइलानी ६ कठ्ठा जमिन रहेको वडाबाट वडाबासीले सहज सेवा पाउने अध्यक्ष चौधरीको भनाइ छ ।
कटहरीका सात वटै वडाहरूले अब आफ्नै भवनबाट सेवा नियमित दिनसक्ने उनले बताए ।
पालिकामा विकास निर्माणका कामलाई द्रुतगतिमा अगाडि बढाइरहेको चौधरीले जिकिर गरे ।
तथापि, कटहरी-१ बाहेक अरू सबै वडामा आफ्नै स्वास्थ्यचौकी भवन भएको बताउँदै उनले चाँडै नै १ नम्बर वडामा स्वास्थ्यचौकी बनाउन पहल थालेको सुनाए ।
उद्घाटन कार्यक्रममा पालिका उपाध्यक्ष सितादेवी राजवंशी, प्रमुख प्रशासकीय अधिकृत तेजिन्द्र गौतम, वडा नम्बर ५ का वडाध्यक्ष सम्पतलाल सरदारका साथै जनप्रतिनिधिहरूको उपस्थिति थियो ।
नेकपा एमाले मुकेश बुढाथोकी, नेपाली कांग्रेसका नवीन दाहाललगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उपस्तिथि रहेको थियो ।