विराटनगर । विराटनगर महानगरपालिका–८ मधुमारास्थित मुनलाइट गर्ल्स होस्टलकी सञ्चालक मधु रेग्मी धरौटी तिरेर थुनामुक्त भएकी थिइन् ।
अभद्र व्यवहार मुद्दामा पक्राउ परेकी ५० वर्षीय रेग्मीलाई जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईको इजालासले ४१ हजार रुपैयाँ धरौटी तोकेको थियो ।
प्रशासनले तोकेको धरौटी रकम बुझाएर मंगलबार उनी रिहा भएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदिप साहले जानकारी दिए ।
रेग्मी गत बुधबार दिउँसो पक्राउ परेकी थिइन् । मोरङ प्रहरीले उनलाई अभद्र व्यवहारको मुद्दामा म्याद थप गरी अनुसन्धान थालेको थियो ।
तर, एक्कासि स्वास्थ्यमा समस्या भएको भन्दै उनी कोशी अस्पतालमा भर्ना भएकी थिइन् । प्रहरीले अनुसन्धान पूरा गरेपछि मोरङ प्रशासनमा अभियोग बुझाएको थियो ।
मंगलबार साँझ विराटनगर नर्सिङ क्याम्पसमा बिएनएस र बीएससी नर्सिङमा अध्ययनरत तीन जना छात्रामाथि होस्टलको कोठाभित्र हातपात गरेको आरोपमा उनी पक्राउ परेकी थिइन् ।
रेग्मीले अग्रिम रूपमा भाडा माग्दै छात्रालाई दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट भएको थियो ।
आफू काठमाडौं जानुपर्ने जनाउँदै रेग्मी अग्रिम रूपमा भाडा माग्न मंगलबार साँझ ६ बजेतिर होस्टल पुगेकी थिइन् ।
रेग्मीले महिना नमरेको भए पनि अहिले तीन–तीन हजार रुपैयाँ दिएर सहयोग गर्न भनेकी थिइन् ।
तर, ती छात्राहरूले पनि आफूहरूसँग अहिले नभएको भनेपछि विवाद सुरु भएको थियो ।
विवाद बढ्दै जाँदा रेग्मीले छात्राहरूका किताब–कापी फ्याँकेकी थिइन् ।
सो होस्टलको उक्त रुममा तीन छात्रा बस्दै आएका थिए । उनीहरू विराटनगरस्थित नर्सिङ क्याम्पसको बिएनएस, बिएससी र नर्सिङ प्रथम वर्षमा अध्ययन गर्न आएका छात्रा हुन् ।
केही दिनयता मात्र उक्त होस्टलमा बस्न थालेका ती छात्राहरूले होस्टललाई दिनुपर्ने फागुन महिनाको सम्पूर्ण फी दिइसकिएको बताएका छन् ।
भोलिसम्ममा त्यो होस्टेल छोड्ने योजनामा रहेको भए पनि होस्टलकी सञ्चालिकाले चैत्रको पनि ती तीन हजारका दरले ‘एड्भान्स’ दिनुपर्ने बताउँदै राति होस्टेल छोड्न धम्की दिएको छात्राहरूको आरोप थियो ।
दुर्व्यवहारमा परेका विराटनगर नर्सिङ क्याम्पस पहिलो वर्षमा भर्ना भएका जुम्ला, पाल्पा र कन्चनपुर घर भएका विद्यार्थी हुन् ।
उक्त होस्टेलमा ३ फागुनदेखि बसिरहेका उनीहरूले ३ चैतसम्मका लागि अग्रिम आठ हजार रुपैयाँ बुझाएका थिए ।
कलेजकै होस्टेलमा बस्नेहरूको सूचीमा भर्खरै उनीहरूको पनि नाम निस्किएको थियो ।
उनीहरू दुर्व्यवहार भएको भोलिपल्ट बुधबारदेखि कलेजको होस्टेलमा बस्ने तयारी गरेका थिए ।
त्यसैले उनीहरू मुनलाइट गर्ल्स होस्टल छाडेर कलेजकै होस्टेलमा सर्ने तरखरमा थिए ।