६ वर्षमा ६२ जना मन्त्री बनेको कोशीमा तीन जनामात्रै महिला मन्त्री !

६ महिला सांसद राज्यमन्त्रीमै सीमित

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २५ फाल्गुण, २०८०
३ वर्षअघि

माधव काफ्ले । मुलुकमा संघीयता लागू गरिएको ६ वर्षमा कोशी प्रदेश सरकार मुख्यमन्त्री र मन्त्री उत्पादन गर्ने ‘कारखाना’ को रूपमा विकास भयो ।

विशेषगरी संसदीय निर्वाचनमा कुनै पनि दलले बहुमत प्राप्त गर्न नसकेका कारण दुई वा दुईभन्दा बढी दलहरू मिलेर सरकार गठन गर्नुपर्ने भएकाले पनि कोशी प्रदेश ‘मन्त्री उत्पादन कारखाना’ सरह बन्यो ।

दलहरूबीच फेरिँदो समीकरण अनि गठबन्धनका सबै दललाई मन्त्रालय भागबन्डा लगाउनुपर्ने भएकाले पनि पछिल्लो दुई कार्यकालमा सरकारले प्रदेशबासीलाई विकास र कानुनहरूभन्दा बढी मुख्यमन्त्री र मन्त्रीहरू दियो ।

प्रदेशलाई राजनीतिक स्थायित्व, विकास, समृद्धि दिन नसके पनि यो प्रदेशले हालसम्म ७० मन्त्री र ६ मुख्यमन्त्री पाइसकेको छ । जसमध्ये आठ मन्त्रीहरू दोहोरिएका पनि छन् ।

नेकपा माओवादी केन्द्रका ईन्द्रबहादुर आङ्बो, हिमाल कार्की, जीवन आचार्य, बुद्धिकुमार राजभण्डारी, निर्मला लिम्बु, कमलप्रसाद जबेगु, रामकुमार खत्री र राजेन्द्र कार्की दुईपटक मन्त्री बनेका छन् ।

संसदीय अंकगणित र केन्द्रको सत्ता समीकरणलाई आधार मान्ने हो भने कोशी प्रदेशमा मुख्यमन्त्री र मन्त्रीहरूको संख्या अझ बढ्ने निश्चित छ ।

नेकपा एमाले, एकीकृत समाजवादी र नेपाली कांग्रेसले पटक–पटक नेतृत्व गर्दा कोशी प्रदेशको मन्त्रीहरूमा आठ अनुहार दोहोरिएका पनि छन् ।

तर, मन्त्रीमण्डलमा महिला सहभागिता भने निराशजनक छ । बरु, महिलालाई राज्यमन्त्रीमा सीमित गरिएको छ ।

कोशी प्रदेशको मन्त्रीमण्डलमा हालसम्म रूपमा तीन महिला अटाएका छन् । राज्यमन्त्रीका रूपमा भने ६ जना महिला क्याबिनेटको हिस्सा बनेका छन् ।

नेकपा एमालेकी उषाकला राई र खिनु लुङ्वा लिम्बु (हाल एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) की निर्मला लिम्बुले मन्त्री बन्ने मौका पाएका छन् ।

एमालेकै जसमाया गजमेर, कला घले र सिर्जना राई, तत्कालीन संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी विष्णुमाया तुम्बाहाम्फे र नेपाली कांग्रेसकी ईन्दिरा थापा र सुनिताकुमारी गुरुङले राज्यमन्त्रीमा सीमित बन्नु परेको छ ।

हालसम्म कोशी प्रदेशमा ६ जना मुख्यमन्त्री बनिसकेका छन् । प्रदेशको पहिलो मुख्यमन्त्री बनेका शेरधन राईले आठ मन्त्री र चार राज्यमन्त्री नियुक्त गर्दा तीन महिलालाई समेटेका थिए ।

२०७४ फागुन १० देखि २०७८ भदौ गतेसम्म करिब चार वर्ष प्रदेशको नेतृत्व गरेका राईले कार्यकालको अन्त्यतिर मात्रै महिलालाई मौका दिए ।

राईले २०७६ माघ ५ गते जसमाया गजमेरलाई राज्यमन्त्री बनाएका थिए ।

त्यसबेला सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाउने गजमेर कोशी सरकारको मन्त्रीमण्डलमा महिलाको प्रतिनिधित्व गर्ने पहिलो सांसद हुन् ।

२०७७ चैत १३ गते उनले उषाकला राईलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिए ।

सोही दिन कला घलेलाई पनि राईले राज्यमन्त्री बनाएका थिए । घलेले भूमि व्यवस्था मन्त्रालयको जिम्मा पाएकी थिइन् ।

राईले हिक्मतकुमार कार्की, ईन्द्रबहादुर आङ्बो, जीवन घिमिरे, जगदिशप्रसाद कुसियैत, विजयकुमार विश्वास, अम्बिरबाबु गुरुङ, टंक आङ्बुहाङ, रामबहादुर मगर र राजकुमार ओझालाई पनि आफ्नो मन्त्रीमण्डलमा समेटेका थिए ।

राईले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि १० भदौ २०७८ मा एमालेकै भीम आचार्य मुख्यमन्त्री बने ।

मुख्यमन्त्रीमा नियुक्त भएको भोलिपल्ट आफूसहित आठ सदस्यीय मन्त्रीमण्डल बनाएका आचार्यले महिलालाई समेटेनन् ।

आचार्यको मन्त्रीमण्डलमा लछुमन तिवारी, बलबहादुर साम्सोहाङ, तुलसीप्रसाद न्यौपाने, हीराकुमार थापा, उत्तमकुमार बस्नेत, ज्ञानेश्वर राजवंशी र लीलाबल्लभ अधिकारी रहेका थिए ।

आचार्य नेतृत्वको सरकार दुई महिनामै ढल्यो ।

केपी शर्मा ओलीसँग छुट्टिएर माधव नेपाल समूहले नेकपा एकीकृत समाजवादी दल बनाएपछि कांग्रेस र माओवादीको समर्थनमा नेकपा एसका राजेन्द्रकुमार राईले प्रदेशको नेतृत्व सम्हाले ।

२०७८ कात्तिक १५ गते कोशीको तेस्रो मुख्यमन्त्री बनेका राईले आफ्नो मन्त्रीमण्डलमा दुई महिलालाई समावेश गरे ।

मुख्यमन्त्री भएकै भोलिपल्ट राईले विष्णुमाया तुम्बाहाम्फेलाई सामाजिक विकास राज्यमन्त्री बनाए ।

सोही वर्षको माघ २३ गते दोस्रोपटक मन्त्रीमण्डल विस्तार गर्दा राईले खिनु लुङ्वा लिम्बूलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी सुम्पिए ।

उनीहरूको कार्यकाल दोस्रो संसदीय निर्वाचनसम्म कायम रह्यो ।

राई नेतृत्वको सरकारमा १४ मन्त्री र एक राज्यमन्त्री थिए ।

ईन्द्रबहादुर आङ्बो, केदार कार्की, हिमाल कार्की, जयराम यादव, हिमाल कार्की, जयराम यादव, रामकुमार राई, राजन राई, झलकबहादुर मगर, शेखरचन्द्र थापा, ओमप्रकाश सरावागी, प्रतापप्रकाश हाङ्गाम र उपेन्द्रप्रसाद घिमिरे त्यसबेला मन्त्री बनेका थिए ।

समग्रमा कोशी प्रदेशसभाको पहिलो कार्यकालमा तीन मुख्यमन्त्रीसहित ३७ जनाले सत्ताको स्वाद चाख्दा उक्त ‘क्याबिनेट’मा दुई मन्त्री र तीन राज्यमन्त्रीमा महिलाको सहभागिता रह्यो ।

दोस्रो कार्यकाल भने सुरु भएको दुई वर्ष नपुग्दै मन्त्रीहरू उत्पादन गर्ने थलोजस्तै बन्यो ।

२०७९ मंसिरमा सम्पन्न निर्वाचनबाट निर्वाचित हुँदै नेकपा एमालेका हिक्मतकुमार कार्की मुख्यमन्त्री बने ।

माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र राप्रपाका सांसदको समर्थनमा पुस २४ गते प्रदेशको नेतृत्व सम्हालेका कार्कीले आफ्नो मन्त्रीमण्डलमा एक महिलालाई समेटे ।

जसपाकी एक्ली सांसद निर्मला तावा लिम्बूलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सुम्पिए ।

कार्कीले मुख्यमन्त्रीका रूपमा शपथ खाएकै दिन मन्त्री बनेकी लिम्बू पहिचान पक्षधर र सरकारबीचको द्वन्द्वमा परिन् ।

प्रदेशको नाम ‘कोशी’ खारेज गरौं भनेर आन्दोलित पहिचान पक्षधरको निशानामा परेपछि उनले २०८० जेठ १७ गते राजीनामा दिइन् ।

त्यसबेला कार्कीले आफ्नो मन्त्रीमण्डलमा तिलकुमार मेन्याङ्बो, दुर्गाप्रसाद चापागाईं, भक्तिप्रसाद सिटौला, जीवन आचार्य र बुद्धिकुमार राजभण्डारीलाई पनि मन्त्री बनाएका थिए ।

तर, कांग्रेससँग चुनावी तामेल गरेर नेकपा एमालेसँग सत्ता गठबन्धन गरेको नेकपा माओवादीले कोशीमा आफ्नो समर्थन फिर्ता लियो ।

त्यसपछि कांग्रेस उद्धव थापाले प्रदेशको नेतृत्व सम्हालेपछि निर्मला लिम्बू फेरि मन्त्री बनिन् ।

असार २२ गते थापा मुख्यमन्त्री बनेपछि लिम्बुको साउन २२ गते स्वास्थ्य मन्त्रालयमा फिर्ती भयो ।

तर, सर्वोच्च अदालतले थापाले लिएको विश्वासको मत बदर गरिदिएपछि प्रदेशसभाको ठुलो दलको हैसियतमा पुनः हिक्मत कार्की नेतृत्वमा अर्को सरकार बनेको थियो ।

कार्की मुख्यमन्त्रीमा दोहोरिनुअघि थापाले, कमलप्रसाद जबेगु, प्रदीपकुमार सुनुवार, जीवन आचार्य, राजेन्द्र कार्की, रामकुमार खत्री र बाबुराम गौतमलाई मन्त्री बनाउँदा गयानन्द मण्डल राज्यमन्त्री बने ।

भदौ २२ गते पुनः मुख्यमन्त्रीमा बहाली पाएका कार्कीले एक महिलालाई आफ्नो ‘क्याबिनेट’ मा राखे । त्यसबेला उनले सिर्जना राईलाई सामाजिक विकास राज्यमन्त्री बनाएका थिए ।

त्यसबाहेक उनकै पालमा पाँच कर्ण राई, एकराज कार्की, लीलावल्लभ अधिकारी, बुद्धिकुमार राजभण्डारी, रामप्रसाद महतो र निरन राईलाई मन्त्री बने ।

हिक्मतकुमार कार्कीले विश्वासको मत नपाएपछि उनी नेतृत्वको सरकार ढल्यो ।

कार्कीआबद्ध एमालेका ३९ र कांग्रेसको शेखर कोइराला पक्षका आठ गरी ४७ जना सांसहरूको समर्थनमा केदार कार्की मुख्यमन्त्रीमा नियुक्त भए ।

संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री बनेका कार्कीले दुई सांसदलाई आफ्नो क्याबिनेटमा त राखे । तर, उनीहरू राज्यमन्त्रीमा सीमित बने ।

कार्कीले मुख्यमन्त्री बनेको भोलिपल्टै शमशेर राई र रामबहादुर मगरलाई मन्त्री बनाएका थिए ।

कात्तिक १७ गते माओवादीका गणेश उप्रेती र नेकपा एसका कमलप्रसाद जबेगुलाई मन्त्री बनाएपछि मगरले राजीनामा दिए ।

अहिले कार्कीले १० सदस्यीय मन्त्रीमण्डलको नेतृत्व गरिरहेका छन् ।

शमशेर, गणेश, कमलप्रसादसँगै राजेन्द्र कार्की, नारायण बुर्जामगर, रामकुमार खत्री, प्रदीपकुमार सुनुवार मन्त्री छन् भने ईन्दिरा थापा र सुनिताकुमारी गुरुङलाई राज्यमन्त्रीमा खुम्चाइएको छ ।

९३ सदस्यीय कोशी प्रदेशसभामा ३३ महिलाको सहभागिता छ ।

जसमध्ये ३१ जना समानुपातिक सांसद हुन् भने दुई जना प्रत्यक्ष निर्वाचित हुन् ।

कोशी प्रदेशसभाको ठुलो दल नेकपा एमालेका ४० मध्ये उपसभामुख सिर्जना दनुवारसहित १४ जना महिला सांसद छन् भने कांग्रेसका २९ सांसदमध्ये १० जना महिला हुन् ।

माओवादी केन्द्रका १३ मध्ये चार सांसद महिला हुन् भने राप्रपाका ६ मध्ये दुई, नेकपा एसका चारमध्ये दुई महिला हुन् ।

जसपाकी एकमात्र सांसद निर्मला लिम्बुले भने दुईपटक मन्त्री बन्ने मौका पाएकी छन् ।

मुख्यमन्त्री, मन्त्री तथा राज्यमन्त्रीहरूको नामावली :

प्रकाशित समय: शुक्रबार २५ फाल्गुण, २०८०, ०८:२०:३५
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०