मोरङको पथरीशनिश्चरे नगरपालिकामा शौचालय गएकी १५ वर्षीया बालिकाको हत्या गरेको आरोपमा पक्राउ परेका एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ । मंगलबार पत्रकार सम्मेलन गरेर मोरङ प्रहरीले ग्रामथान गाउँपालिका–४ का ३८ वर्षीय धीरेनकुमार खाँ चौधरीलाई सार्वजनिक गरेको हो ।
सोमबार राति पथरीशनिश्चरे नगरपालिका–७ लामा टोलीस्थित मामाको छोरा (दाजु) को घरमा बस्दै आएकी ज्ञानमति थुलुङ राईको निर्मम तरिकाले हत्या भएको थियो । धारिलो हतियार प्रयोगबाट ज्ञानमतिको घटनास्थलमै मृत्यु भएको थियो ।
हत्यापछि फरार रहेका धीरेनलाई घटना भएको चार घण्टाभित्रै प्रहरीले पक्राउ गरेको हो । मंगलबार बिहानका राति २ः३० बजेतिर उनलाई बेलबारीको भाउन्नेस्थित जंगलबाट पक्राउ गरिएको मोरङ प्रहरीका प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए ।
एसपी कार्कीका अनुसार ज्ञानमति र धीरेनबीच सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम र इमोमार्फत चिनजान भएको थियो ।
बाराको जितपुर सिमरा उपमहानगरपालिकामा घर बनाएर आफ्नी आमासँग बस्दै आएका धीरेनले योजनाबद्ध तरिकाले ज्ञानमतिको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ । हत्या गर्ने योजनाका साथ धीरेन केही दिनअघि मात्र बाराबाट मोरङ आएका थिए ।
प्रहरीका अनुसार धीरेन विवाहित पुरुष हुन् । उनकी एक श्रीमती र १४ वर्षीय छोरासमेत छन् । उनीहरू दुबईमा बस्दै आएको खुलेको प्रहरीले जनाएकोछ । उनकी श्रीमती चार वर्षदेखि वैदेशिक रोजगारीमा रहेकी छन् ।
श्रीमतीसँग राम्रो सम्बन्ध नभएपछि सामाजिक संजालमाफर्त किशोरीसँग चिनजान र नजिकिएको अनुसन्धानबाट खुलेको एसपी कार्कीले बताए । डेढ वर्षयता उनीहरू माया–प्रेममा रहेका थिए । गत असारमा उनीहरू बिहे गर्ने मनसायका साथ जोगबनी हुँदै भारत जाने तरखरमा रहेका थिए ।
तर, मानव बेचबिखनविरुद्ध सक्रिय एक संस्थाले उनीहरूलाई फेला पारी ज्ञानमतिलाई परिवारको जिम्मा लगाइदिएको थियो । ज्ञानमतिको परिवारले आफूसँग विवाह नगरिदिने बुझेपछि धीरेनले हत्या गरेको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको एसपी कार्कीले बताए ।
खोटाङको ऐँसेलुखर्क गाउँपालिका–६ सल्ले घर भएकी ज्ञानमति पथरीशनिश्चरे नगरपालिका–७ लामा टोलीस्थित दाजु (मामाको छोरा) विनोद राईको घरमा २ वर्षदेखि बस्दै आएकी थिइन् ।
प्रहरीका अनुसार उनी पथरीशनिश्चरे–१ मा रहेको पञ्चायत माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत थिइन् । ज्ञानमतिका मामाका छोरा विनोदले आफ्नो घरमा सुम्निमा होटल नामको खाजा नास्ता पसल पनि सञ्चालन गरेका छन् ।
दुई वर्षअघि पहाडबाट झरेकी ज्ञानमति नास्ता पसलमा दाजुलाई सहयोग गर्दै उनकै घरमा बसेर पढ्ने गरेकी थिइन् । बुवा दानबहादुर राईको भने यसअघि नै निधन भइसकेको थियो । गएराति सुत्नुअघि शौचालय जाने क्रममा बसेकै घरको कम्पाउण्डमा राति १०ः३० बजेतिर चौधरीले धारिलो हतियार प्रहार गरेर बालिकाको वीभत्स तरिकाले हत्या गरेका हुन् ।
हतियार प्रहारबाट गर्धन, अनुहार र दाहिने पाखुरामा गहिरो चोट लागेको अवस्थामा ज्ञानमतिको शव फेला परेको थियो । बालिका चिच्याएको आवाज आएपछि हेर्दा ज्ञानमतिलाई उनका दाजु विनोदले गम्भीर अवस्थामा फेला पारेका थिए ।
लगत्तै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलबाट उठाएर शवलाई पोस्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पु¥याएको छ । पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि घटनाका बारेमा अनुसन्धान गर्न थप सहज हुने प्रहरीले जनाएको छ ।