सरस्वती मया दृष्टा वीणापुस्तक धारिणी ।
हंसवाहन संयुक्ता विधादानं करोतु मे ॥
आज माघ श्रीपञ्चमी वा वसन्त पञ्चमी । संगीत, ज्ञान अनि विद्याकी देवी सरस्वतीको पूजा-आराधना गरी मनाइँदै छ ।
श्वेत वस्त्र धारण गरेकी, गोरो वर्णकी, मुस्कुराइरहेकी, सवोत्तम रत्नद्वारा निर्मित आभूषणले सुशोभित, पहिलो हातमा वीणा, दोस्रोमा पुस्तक र तेस्रोमा स्फटिकको माला र चौथो हात अभ मुद्रामा रहेकी देवी सरस्वती हुन् भनी शास्त्रमा उल्लेख छ ।
प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने विद्याकी देवी सरस्वतीको पूजा मनाइन्छ ।
संगीत, कला, साहित्य र विद्याकी खानी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी स्तोत्रपाठ गरेमा पढ्न आउँछ भन्ने धार्मिक विश्वास छ ।
सरस्वतीपूजाको दिन साना बालबालिकालाई अक्षरारम्भ गराइन्छ ।
सरस्वतीको पूजाको दिन अक्षराम्भ गरिए विद्या आउने विश्वास रही आएको छ ।
चन्द्रमा जस्तो गोरो वर्ण भएकी तथा हातमा विणा लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, बागीश्वरी, कौमारी जस्ता नामले पुकार्ने गर्दछन् ।
विद्या र सृजनाकी देवी भएकाले ज्ञान आर्जन गर्ने साधनको रूपमा रहेको कलम, कापी, कुची र बाद्ययन्त्र आदिलाई पनि सरस्वतीको रूपमा पूजा आराधना गर्ने गरिन्छ ।
ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङगिनी ब्रह्मायणीको ठूलो पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धी र सदबुद्धि प्राप्त हुने भएकाले सरस्वती पूजाको ठुलो महत्व छ ।
यसैदिन विवाह, व्रतबन्ध, गुफा बस्ने जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नु नपर्ने धार्मिक विश्वाससमेत रही आएको छ ।
आजको दिन विशेषगरी शैक्षिक संस्थामा विद्यार्थीले महत्वका साथ यो पर्व मनाउँछन् ।
आजबाट क्रमशः वसन्त ऋतुको सुरुआत हुने मान्यता रहेको छ ।
ऋतुहरूको राजा वसन्तको सुरुवात हुने दिन भएकाले यस दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ ।
वसन्त ऋतु आगमनको उपलक्ष्यमा राष्ट्राध्यक्षले वसन्तपुर गई वसन्तश्रवण गर्ने परम्परा छ ।
यस दिन बिहान कलश स्थापना गरी गणेश, सूर्य, अग्नी, विष्णु, शिव आदि देवताको पूजा गरी सरस्वतीको पूजा गरिन्छ ।
सरस्वतीलाई नैवेद्यको रुपमा नौनी, दही, दूध, धानको लावा, तिलको लड्डु, नरिवलको जल, मूला, बयर, बेल, अदुवा अर्पण गरिन्छ ।
सेतो रङ, फूल, चन्दन, शङ्ख पनि चढाइन्छ ।