इनरुवा : सुनसरीको इनरुवा नगरपालिकामा छोराको कुटपिटबाट गम्भीर घाइते भएका बाबुको मृत्यु भएको छ ।
मृत्यु हुनेमा इनरुवा-८ गणेशपुर टोलका ७० वर्षीय चिलिया ऋषिदेव सदा रहेको सुनसरी प्रहरीले जनाएको छ ।
सुनसरी प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीका अनुसार छोराको कुटपिटबाट गम्भीर घाइते भएका सदाको उपचारका क्रममा मृत्यु भएको हो ।
हत्या आरोपमा सदाका छोरा २१ वर्षीय चिबु सदालाई पक्राउ गरिएको डिएसपी भण्डारीले जनाए ।
माघ ११ गते घरायसी विवादको क्रममा चिबुले आफ्ना बाबु चिलियालाई कुटपिट गरेका थिए ।
कुटपिटबाट गम्भीर घाइते भएका चिलियाको विराटनगरस्थित कोशी अस्पतालमा उपचारको क्रममा सोमबार साँझ मृत्यु भएको हो ।
सदालाई सोमबार नै बराहक्षेत्र नगरपालिका-५ स्थित भरौलबाट पक्राउ गरेर आवश्यक अनुसन्धान तथा कारबाहीको प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।