विराटनगर । छिमेकी मुलुकहरूमा कोरोना भाइरस को नयाँ सब भेरियन्टको संक्रमण बढ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भिडभाड हुने स्थानहरूमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गरेको छ ।
नयाँ सब भेरियन्ट जे एन-१ को संक्रमण बढिरहेकाले नेपालमा पनि भित्रिन सक्ने भन्दै मन्त्रालयले भिडभाडमा मास्कको प्रयोग गर्न भौतिक दूरी कायम राख्न, हातको सरसफाइमा ध्यान दिन आग्रह गरेको छ ।
हालसम्म नेपालमा कोरोनाको नयाँ सब भेरियन्टको पुष्टि भइसकेको त छैन ।
तथापि, मन्त्रालयले मुलुकमा संक्रमण भित्रिन नदिन विभिन्न नाका, प्रवेश बिन्दुका सम्पूर्ण हेल्थ डेस्कहरू, स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाहरू तथा सम्पूर्ण सरोकारवालाहरूमार्फत आवश्यक निगरानी थालेको छ ।
साथै, उसले देशमा त्यसको संक्रमण फैलिहालेमा मन्त्रालय कोभिड–१९ को व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको दाबी गरेको छ ।
यसै कुरालाई दृष्टिगत गर्दै मोरङ प्रशासनले पनि सीमा-नाकामा परीक्षणको कामलाई निरन्तरता दिएको छ ।
मोरङको ठुलो नाका रानी-जोगवनीबाट आवातजावत गर्नेहरूलाई परीक्षण गर्दा हालसम्म नयाँ सब भेरियन्ट पुष्टि नभएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।
त्यस्तो प्रकृतिका बिरामी फेला परेमा क्वारेन्टाइन र स्वास्थ्यकर्मी तयारी अवस्थामा रहेको उनकाे भनाइ छ ।
‘हिजो भर्खरै स्वास्थ्य मन्त्रालयमार्फत् सब भेरियन्टको जानकारी पाएका थियौं,’ उनले भने, ‘त्यहीअनुसार मैले स्वास्थ्यकर्मीसँग छलफल गरेको छु । अब, बैठक बसेर बृहत् रूपमा छलफल गर्छौं ।’
प्रजिअ भट्टराईले मोरङ कोभिड व्यवस्थापन समितिको सोमबार बस्नेगरी तयारी भइरहेको पनि जनाए ।
यता, कोसी प्रदेशको स्वास्थ्य मन्त्रालयले कोभिडको नयाँ भेरियन्ट देशमा पुष्टि नभइसकेका कारण तयारीमा नरहेको जनाएको छ ।
तथापि, स्वास्थ्य जनशक्ति र स्वास्थ्य उपकरण भने हरबखत तयारी अवस्थामा रहेको मन्त्रालयकी सचिव सुधा देवकोटाको दाबी छ ।
‘नेपालमा सब भेरियन्टको पुष्टि भइसकेको अवस्था छैन, यसैले यसको तयारीबारे अहिले नै सोचिसकेका छैनौं,’ उनले भनिन्, ‘तर, जनशक्ति, उपकरण र कोभिड अस्पताल भने तयारी नै रहेका कारण आत्तिहाल्ने स्थिति छैन ।’
विराटनगर महानगरपालिकाले भने छिमेकी देशहरूमा कोरोनाको नयाँ भेरियन्टको बढ्दो संक्रमणलाई मध्यनजर गरेर महानगर तयारी अवस्थामा रहेको जनाएको छ ।
उसले रानी हेल्थ डेस्क, रानी अस्पताल, बैजनाथपुर अस्पताल र आधारभूत स्वास्थ्य केन्द्रहरूमा स्क्रिनिङ तथा निगरानीको काम हुन थालेको जनाएको छ ।