नाबालिग बलात्कारको आरोपमा हिरासतमा बसेका पल शाहको पक्षमा खुलेआम सडकमा नाराजुलुस छ ।
जिल्ला अदालत तनहुँले प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएसँगै सामाजिक सञ्जालमा पलको पक्ष लिएर बोल्नेहरूको लर्को छ ।
विभिन्न युटुब अन्तर्वार्तामा उनको समर्थन गर्नेहरूको चाङ छ ।
अरू त अरू स्वयम् केही नायिका उनको पक्षमा खुलेका छन् ।
नायिका पूजा शर्मा पलको बचाउमा लागेकी छन् ।
पलमाथि अनुसन्धान सुरु नहुँदै रुन थालिसकेकी पूजाले प्रसिद्धीको आडम्बरमा आफ्ना फ्यानहरूलाई डाको छोडेर रुन लगाएकी थिइन् ।
उनी अनुसन्धाननै प्रभावित तुल्याउने गरी रोइन्, पलको तस्बिर अङ्कित टि–सर्ट लगाएर फिल्मको प्रचार–प्रसारमा उत्रिएकी थिइन् ।
सायद उनको रुवाइ फगत आफ्नो फिल्म चलाउनेबाहेक अरू नहोला ।
हाे, पनि कलाकारहरू ती निर्दयी प्राणी हुन्, जो पीडितका लागि होइन, नाफा–घाटा हेरेर मात्र बोल्छन् ।
उनी पलकी साथीमात्र नभएर सहकर्मीसमेत हुन् । उनका फ्यान भनाैदा झनै भावुक छन् पल प्रकरणमा ।
प्रहरी, प्रशासन, राज्य, कानुन, समाजको उदेकलाग्दो लाचारी, नालायकी, वेवास्ता हददर्जाको घृणित स्तरमा मूर्छित छ ।
नाबालिगले राजीखुसीले यौन सम्बन्धको लागि अपिल गरेपनि उमेर पुगेको ब्यक्तिले त्यसलाई स्वीकार गर्न मिल्दैन ।
उमेर नपुगेको नाबालिगले के ठिक के बेठिक भन्ने निर्णय गर्नसक्ने क्षमता नहुने र गरेको निर्णय सधैं सही नहुने भएकाले समाज, अभिभावक, परिपक्व मानिसको दरकार पर्ने हो ।
उमेर पुगेकाले सम्झाउने र गलत निर्णय गरेर समातेको बाटोबाट सही बाटोमा ल्याउने हो नाबालिगलाई, उसको कमजोर निर्णय शक्तिको फाइदा उठाउने होइन ।
सरल र सपाट कुरा छ-निर्णय क्षमता परिपक्व नभएका नाबालिगसँग सहमतिमै या जबर्जस्ती दुबै अवस्थामा गरिएको यौन सम्बन्ध पूर्णतया बलत्कार हुन्छ ।
कमसेकम देशको संविधान/कानुनले गरेको व्यवस्था यही हो ।
यसविरुद्ध /बलत्कारको पक्षमा खुलेआम हुलहुज्जत गर्दा राज्य संयन्त्र के हेरेर बसिरहेको छ ? राज्यको ल्याकत बाँकी छ कि कोमामा गइसकेको हो ?
होइन भने यो मजाकको, कानुनी राज्यको गफ फिटेर बसेको सत्ताको औकात देखाइदिने गरी बलात्कारीको पक्षमा भएको सामाजिक दिवालियालाई किन मौन भएर सघाइरहेको छ राज्य संयन्त्र ?
के सत्ताधारीहरू, राज्य संयन्त्रका पुर्जाहरू बलात्कारलाई प्रवर्द्धन गर्न, बलात्कारीलाई प्रोत्साहन गर्न लागिरहेको हो बलत्कारीको पक्षमा भइरहेको यो नाङ्गो नाचलाई मौन संरक्षण गरेर ?