नव विवाहित भाउजूलाई देवरले भन्यो,-‘पर्सि मेरो चितवनको साथीको बिहे हुँदै छ, साँची हजुरको माइती कहाँनेर अरे भाउजू ?’
भाउजूले खुसी हुँदै भनिन्,-‘हुन्छ, जानुहोस् बाबू । भेटघाट पनि हुन्छ । हजुर आएको देखेर बाआमा निक्कै खुसी हुनुहुने छ ।’
उनले पुनः थपिन्, ‘त्यही चौबीस कोठी झरेर पूर्वतर्फको बाटो समाउनू, पाँच मिनेटमै घर आउँछ, अनि बाबू, चोकमा गएर विद्युत् प्राधिकरणमा काम गर्ने महेश्वर भट्टराईको घर भनेपछि जस्तै आँखा नदेख्नेले पनि देखाइदिन्छ ।’
भाउजूका कुरा सुनेपछि ऊ मख्ख परेर बिहेमा गयो ।
पुग्नेबित्तिकै बिहे घरमा हाजिर भएर एउटा साथी लिएर भाउजुको माइतीमा गयो ।
‘ज्वाइँ नानी’ भनेर उनीहरूले निक्कै सम्मान गरे ।
खानपिनपछि भाउजू बाले भने,-‘बाबू बेलुका फर्कँदा कतिबेला हुन्छ बिहेघरमा घन्चमन्च सहनुभन्दा सुत्न पनि यतै आउनू नी !’
यो कुरा सुनेर हुन्छ नि बुबा हामी आइहाल्छौँ भनेर उनीहरू पुनः बिहेघर फर्किए ।
बिहेमा उसका साथीहरू धेरै भेटिए ।
बेहुली लिएर फर्कँदा निक्कै अबेर भएको थियो ।
ऊ र उसका साथीहरू दुलही भित्रिन नपाउँदै दाइको ससुरालीतिर लागे ।
उनी १० जना साथीहरूलाई लिएर मध्यरातमा दाइको ससुराली पुगेका थिए ।
त्यसबेला दाइको सुसुरालीमा सबै सुतिसकेका थिए ।
छोरीको देवर र उसका साथीहरू भोकै आएको भन्दै बिरामी भएकै अवस्थामा पनि आमा टाउकोमा फेटा बाँधेर खाना पकाउन थालिन् ।
बाले आफूलाई नभएर पनि ओड्ने ओछ्याउने व्यवस्था गरे ।
रातभरि छोरीको देवर र उसका साथीहरू गुनगुन गफ गर्ने हाँस्ने गरेपछि त्यस घरका कोही राम्ररी सुत्न पाएनन् ।
भोलिपल्ट बिहान पनि उसैगरी स-सम्मान आमा-बुबाले चियानास्ता गरी उनीहरूलाई बिदा गरे ।
यता, भोज सकेर ऊ घर गयो र आमालाई भन्यो, ‘आमा भाउजूका माइती त त्यति हुनेखाने त लागेन ।’
‘को को गएका थियौ र बाबू ?, – आमाको प्रश्न भुइँमा खस्न नपाउँदै उसले भन्यो, ‘हामी १० जना थियौँ आमा।’
उसले कुरा सक्न नपाउँदै उनीहरूको सबै कुरा सुनिरहेकी हजुरआमाले जङ्गिँदै भनिन्, ‘बाबू उनीहरूको दोष होइन तैँ बेकुफ होस् ।’
हजुरआमाले पुनः थपिन्, ‘बिहेमा गएको मान्छे त्यत्रा साथी बटुलेर भोकै आधा रातमा जानु हुन्छ ? अनि जाडोको महिना घरकालाई बाहेक फाल्तु १०-१० जोर ओढ्ने ओछ्याउने कसका घर हुन्छ ?’
नातिले अचम्म मानिरहेकै अवस्थामा फेरि पनि हजुरआमाले थपिन्, ‘आफ्नै घरमा पनि विचार गर ! तँ त छोरो मान्छे, भान्छा उम्किएपछि पाहुना आउँदा कति तनाब हुन्छ भन्ने । कुरा त हामी छोरी मान्छेलाई मात्रै थाहा हुन्छ, त्यसैले बुद्धि भएको मान्छे कसैको घर पाहुना हुन जाँदा यी कुरा विचार गरेर मात्र जानुपर्छ बाब !’